सञ्चारक्षेत्र शोषित–पीडित वर्गको पक्षमा अघि बढोस् : युवराज पन्थी

जनवाटो डटकमलाई शुभकामना सन्देश

सञ्चारक्षेत्र शोषित–पीडित वर्गको पक्षमा अघि बढोस् : युवराज पन्थी

मंसिर १२, बुटवल । मार्क्सवादी विचार मञ्च, नेपालका अध्यक्ष युवराज पन्थीले संचार क्षेत्रले सर्वहारा, मजदूर, किसानलगायत सम्पूर्ण शोषित–पीडित वर्गका जनसमुदायको पक्षमा तथा विभिन्नखाले साम्राज्यवादी शक्तिहरूको  विरुद्ध देशको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताको पक्षमा कलम चलाउनुपर्ने बताएका छन् । 

नेपाली अनलाइन न्युजपोर्टल जनवाटो डटकमको औपचारिक शुभारम्भको अवसरमा शुभकामना सन्देश पठाउदै अध्यक्ष पन्थी सञ्चार माध्यमहरूमा सामान्यतः प्रत्यक्ष वा अप्रत्यक्षरूपमा शोषक र शासक वर्गको एकाधिकार तथा सामन्त, दलाल र नोकरशाही पूँजीपति वर्गको मात्रै पहुँच हुने गरेकोले शोषित–पीडित श्रमजीवी जनसमुदायको आवाज बुलन्द हुन नसकेको बताएका छन् । 

अध्यक्ष पन्थीले व्यवसायिकताको नाममा सर्वहारा, मजदूर, किसानलगायत सम्पूर्ण शोषित–पीडित जनसमुदायका हक, हित र अधिकारका आवाजहरूलाई किनारा लगाउने गरिएको र अर्कातिर, वर्गीय पक्षधरताको मिसन सञ्चालन गरेको दाबा गर्नेमध्ये पनि कतिपयले आफ्नो स्वार्थलाई, नेतृत्वको स्वार्थलाई वर्गीय पक्षधरताको जलप लगाउने गरेको समेत बताएका छन् । 

उनले शुभकामना सन्देशमा भनेका छन्, “परीक्षण प्रशारणको दौरानमा जनबाटो  मिडिया प्रा.लि.ले अवलम्बन गरेको विचार, पद्धति र कार्यशैली, आदिलाई हामीहरूले सकारात्मक रूपमा लिइरहेका छौं र त्यसको उच्च मूल्याङ्कन गरिरहेका छौं ।” 

शुभकामना सन्देशमा विश्वमा र नेपालमा पनि द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी विश्वदृष्टिको आलोकमा चीजहरू, परिघटनाहरू, जनताको जीवनशैली, उनीहरूका समस्याहरू, आदि समग्र चिन्तन र ब्यवहारलाई हेर्ने, अध्ययन गर्ने, बुझ्ने, ब्याख्या गर्ने, विभिन्न समस्याहरूको हल खोज्ने आधार बनाउन प्रयत्न गर्ने केहीसमय पहिलेसम्म जुन प्रचलन थियो, त्यो पनि क्रमशः हराउँदै गइरहेको भन्दै क्रान्ति, राजनैतिक परिवर्तन र सामाजिक रूपान्तरणको आवश्यकता छैन भन्नु गलत भएको बताएका छन् । 

शुभकामना सन्देशपत्रमा अध्यक्ष पन्थीले देशमा सर्वहारा मजदूर, किसानलगायत सम्पूर्ण शोषित–पीडित श्रमजीवी वर्गका जनसमुदायको निम्ति उत्पादनका अवस्थाहरू नबदलिएको भन्दै श्रमजीवी जनताको जीवन–शैली झन्पछि झन् गिर्दै गइरहेको बताएका छन् । देश अहिलेको अवस्था नेकपा (नेकपा), अर्थात् दोब्बर नेकपा बताउनेहरूहरूको दुईतिहाईको शासनकालमा आइपुग्दासम्म नवऔपनिवेशिक अर्थब्यवस्थामा पतन हुँदैगइरहेको समेत बताएका छन् ।