पर्यटकका लागी लुम्बिनीको मायादेवी मन्दिर खुल्यो

मायादेवी मन्दिर सर्वसाधारणका लागि खुल्ला

पर्यटकका लागी लुम्बिनीको मायादेवी मन्दिर खुल्यो

मंसिर २१, बुटवल । कोरोना महामारीसँगै लकडाउन र निषेधाज्ञाले बन्द भएको लुम्बिनीको मायादेवी मन्दिर सर्वसाधारणका लागि खुल्ला भएको छ। लुम्बिनीको बाहिरी परिसर केही दिनअघि खुल्ला गरिए पनि मायादेवी आइतबारबाट खुल्ला गरिएको हो।

कोभिड १९ को महामारीको जोखिम न्यूनीकरण गर्न भन्दै सरकारले चैत ११ देखि गरेको लकडाउनका कारण लुम्बिनी बन्द थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आइतबार लुम्बिनीको अवलोकन गरी सर्वसाधारणका लागि मायादेवी मन्दिर खुल्ला भएको जानकारी दिएका हुन्।

‘लुम्बिनीको बाह्य परिसर पर्यटकको लागि केही दिनअघि खुल्ला गरिएको थियो भने आजदेखि लुम्बिनीको मुख्य स्थल मायादेवी मन्दिर खुल्ला गरिएको छ’, मन्त्री भट्टराईले भने, ‘एकपटकमा बढीमा १० जना मात्रै भित्र पस्ने व्यवस्था बनाउन लुम्बिनी विकास कोषलाई भनेका छौँ।’

मन्त्री भट्टराईले मायादेवी मन्दिरमा आउनेले मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरिएको बताए। ‘धार्मिक पर्यटकीय केन्द्र भनेको मानिसको जीवनमा अन्योन्याश्रित किसिमले गाँसिएका पवित्र तीर्थस्थल हुन्। जहाँ दैनिक हजारौँ मानिस पूजाआजा गर्नुपर्ने ठाउँमा बन्द हुँदा धेरै प्रभावित हुनुपर्यो। अब सबै जना लुम्बिनी मन्दिर भ्रमण गर्नसक्नुहुनेछ’, उनले भने।