नेकपा (क्रान्तिकारी माओवादी) रुपन्देहीले मनायो माओ दिवस

क्रान्तिकारी कम्युनिस्टहरु बीच एकतामा जोड

नेकपा (क्रान्तिकारी माओवादी) रुपन्देहीले मनायो माओ दिवस

पुष १२, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य प्रेम सुवेदीले माओको विचार अंगीकार नगर्ने पार्टी सच्चा क्रान्तिकारी पार्टी हुन नसक्ने बताएका छन् । १२८ औं माओ दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा सुवेदीले माओको योगदान र विचारलाई आत्मसात गरे मात्रै माओप्रति सच्चा श्रद्धाञ्जली हुने बताउँदै संसद र संसदीय व्यवस्था असफल भएको र संघीय जनगणतन्त्रमा जानुपर्ने बताए । उनले मुलुकमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरु बीच एकता र धुवीकरणमा पार्टीले जोड दिएको बताए । 

कार्यक्रमलाई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सचिवालय सदस्य एवं अखिल नेपाल हाइड्रो उर्जा महासंघका संयोजक क. भीमलाल काफ्ले, माक्र्सवादी अध्ययन केन्द्रका संयोजक आर सी चापागाईं, राष्ट्रिय जागरण अभियानका क. बाबुराम आचार्य, समाज रुपन्देहीका बिनोद खनाल लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम राजु भुजेलको सञ्चालन, जिल्ला इन्चार्ज क. पितम्बर आचार्यको अध्यक्षतामा र रामप्रसाद पोख्रेलको स्वागत मन्तव्यमा सम्पन्न भएको छ ।