पुष २०, अर्घाखाँची । उर्जामन्त्री टोपबहादुर रायमाझीले संसद पुनस्थापनाको सपना नदेख्न आग्रह गर्नुभएको छ । उहाँले मरेको मान्छे बिउँझन्छ भन्नु र संसदको पुनस्र्थापना हुन्छ भन्नू एउटै भएको भन्दै संसद पुस्थापना अब केवल दिवास्वप्न मात्र हुने बताउनु भयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सन्धिखर्क नगर कमिटीद्वारा सन्धिखर्कमा आयोजित बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले सरकारले तोकेको समयमै निर्वाचन हुने बताउनुभयो ।
प्रचण्ड-माधव समुहले एकताको मर्म बिपरित पार्टीभित्र चरम गुटबन्दी गरि पार्टी बिभाजनको अवस्थामा पुर्याएको आरोप लगाउँदै उहाँले पार्टी एकता बिरोधिहरु लाई कार्यकर्ता र जनताले बहिष्कार गर्ने बताउनुभयो । पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै पार्टी भित्रै बाट सरकारलाई घेराबन्दीमा पारी काम गर्न नदिएको भन्दै उहाँले विभिन्न कठिना र अबरोधका बीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको दावी गर्नु भयो ।आफुहरुले पार्टी बिभाजन रोक्न भरमग्दुर प्रयास गरेपनि प्रचण्ड , नेपाल समुहको चरम पदलोलुपता ,बैचारिक बिचलन र अधर्यताका कारण पार्टी बिभाजन भएको उहाँको गुनासो थियो ।
रायमाझीले अध्यक्ष प्रचण्ड र माधव समुहले बाह्य शक्तिको ईसारामा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लाई दुबै पद बाट हटाई मुलुकलाई अनिर्णयको बन्दी बनाउन खोजेको भन्दै उहाँले उनिहरुको पदलोलुप चरित्र र निहित स्वार्थ मुलुकको बिकास र समृद्धिको निम्ति बाधक रेहेको जनताले समय आउँदा जवाफ दिने बताउनुभयो ।
३३ बर्ष सम्म प्रचण्डले आफै टिको लगाएर पार्टी अध्यक्ष बनेको भन्दै उहाँले प्रचण्डले बिगतमा पार्टी लाई खल्तीको पैसा जस्तो बनाएको आरोप लगाउँदै नेकपा लाई पनि आफ्नो कठपुतली बनाउन षड्यन्त्र गरेको बताउनुभयो ।
उहाँले प्रचण्ड ,माधव र झलनाथका कारण पार्टी बिभाजन भएको दुखेसो पोख्दै अब पार्टीलाई रुपान्तरण सहितको ध्रुबिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र सचिव शिव अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला पार्टी अध्यक्ष चेतनारायण आचार्य, केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे ,केन्द्रीय सदस्य बिजुला रायमाझी लगाएत स्थानीय नेता कार्यकर्ताको उल्लेखनिय उपस्थिती रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्