भट्टको हत्यारालाई कारबाही गर : अखिल (क्रान्तिकारी)

हत्यारालाई फासी नदिए कडा आन्दोलन गर्ने चेतावनी

भट्टको हत्यारालाई कारबाही गर : अखिल (क्रान्तिकारी)

माघ २७, बुटवल । नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कपिलवस्तुले भागिरथी भट्टको बलात्कार पश्चात् हत्या गरिएको घटना विरुद्ध मङ्गलबार विरोध प्रदर्शन गरेको छ । 

विरोध प्रदर्शनमा हत्यारालाई कारबाही गर, हत्या हिंसा बन्द गर, अखिल (क्रान्तिकारी) जिन्दावाद लगायतका नारा लगाइएको थियो भने उक्त विरोध प्रदर्शनलाई अखिल (क्रान्तिकारी) कपिलवस्तु जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले सम्बोधन गर्नुभएको थियो । 


त्यस्तै भट्टको घटनालाई नै लिएर अखिल (क्रान्तिकारी) अर्घाखाँचीले पनि जिल्लाका विभिन्न  ठाउँमा विरोध प्रदर्शन गरेको छ । संगठनका अर्घाखाँची जिल्ला अध्यक्ष नवीन खड्काले उक्त विरोध प्रदर्शनलाई सम्बोधन गर्दै भट्टको हत्यारालाई फासी नदिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको थियो । 


गत २० गते बैतडी, दोगडाकेदारस्थित सिर्कोटमा रहेको सनातन माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत भागिरथी भट्टको बलात्कार पश्चात् हत्या गरिएको थियो भने प्रहरीले शव भोलिपल्ट फेला पारेको थियो ।