बास्तोलाको रिहाइका लागी विभिन्न देशहरुबाट अपिल

दर्जनौं देशहरुबाट बास्तोलाको रिहाइको माग

बास्तोलाको रिहाइका लागी विभिन्न देशहरुबाट अपिल


माघ २, बुटवल । नेकपा सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाको रिहाइका लागी विदेशका विभिन्न देशहरुमा रहेका नेपालीहरुले अपिल गरेका छन् । 

नेपाली जनप्रगतिशील मोर्चा, साउदीका अध्यक्ष कसम मगर (सेते) र महासचिव टीकाराम वली (सुरेश) ले वक्तव्य जारी गर्दै नेता बास्तोला लगायत कुमाल र विशाललाई यथाशिघ्र रिहाइ गर्न माग गरेका छन् । उनीहरुले केपी वली भारतीय साम्राज्यवादको दलाल भएको भन्दै पार्टीले माघ १० गते घोषणा गरेको नेपाल बन्दलाई सफल पार्नका लागी सहयोग गर्न अपिल गरेका छन् । 

नेपाली जनप्रगतिशील मोर्चा युएईका अध्यक्ष मनोज काउचा र महासचिव अर्जुन खड्काले वक्तव्य जारी गर्दै नेकपाका नेता एवं विदेश विभाग प्रमुख बास्तोला, कुमाल र विशाललाई गिरफ्तार गरेकोप्रति ध्यानाकर्षण भएको भन्दै सरकारको कायरतापूर्ण दमनविरुद्ध प्रतिरोध गर्न अपिल गरेका छन् । 

प्रवासी नेपाली जनसमाज भारतका अध्यक्ष आजाद सेन थापाले बास्तोला लगायत नेता कार्यकर्ताको गिरफ्तारी निन्दनीय भएको भन्दै प्रवासमा रहेका संसारभरीका नेपालीहरुले यसको विरुद्ध संघर्ष गर्नुपर्ने बताएका छन् । उनले माघ १० गते नेकपाले गरेको नेपाल बन्दलाई सहयोग गर्न अपिल समेत गरेका छन् । 

नेपाली जनप्रगतिशील मोर्चा जापानका अध्यक्ष निरन्जन गैरे र महासचिव दिनेशकुमार शाही (प्रयास) ले बास्तोलालगायत नेता कार्यकर्ताको गिरफ्तारी भत्र्सनायोग्य भएको भन्दै घटनाले संगठनलाई आक्रोशित बनाएको बताएको छ । उनीहरुले नेता बास्तोला र नेता कार्यकर्ताहरुको तत्काल रिहाइका लागी पहल गर्न सम्पूर्ण जनसमुदायमा अपिल समेत गरेका छन् । 

नेपाली जनप्रगतिशील मोर्चा कतारका अध्यक्ष साजन गुरुङ र महासचिव विवेक मल्लले वक्तव्य जारी गर्दै बास्तोलालगायत नेता कार्यकर्तालाई सरकारको ठाडो आदेशमा गिरफ्तार गरेको भन्दै वली सरकारको गृहप्रशासनविरुद्ध आक्रोश व्यक्त गरेको छ । उनीहरुले नेकपालाई जबर्जस्त युद्धमा धकेल्ने कुचेष्टा गरेको भन्दै नेता कार्यकर्तालाई तत्काल रिहा गर्न अपिल गरेका छन् । 

त्यसैगरी युरोपका देशहरु बेल्जियम, पोल्याण्ड, जर्मनी, पोर्चुगल, स्पेन, अमेरिकालगायतका देशहरुमा रहेका नेपालीहरुले समेत नेता बास्तोलालगायत नेता कार्यकर्ताहरुको तत्काल रिहाइका लागी अपिल गरेका छन् ।  

नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, ब्युरो सदस्य विवेक र विशाललाई २०७७ पुस २९ गते दिउसो ३ बजे पार्टी काममा खटिरहेको वेला ललितपुरबाट प्रहरीले गिरफ्तार गरेको थियो । उहाँको गिरफ्तारपछि नेकपाका महासचिव विप्लवले गिरफ्तारी विरुद्ध तागतपूर्ण र सचेततापूर्वक संघर्षमा उत्रिन अपिल गर्दै माघ १० गते नेपाल बन्दको कार्यक्रम सहित संघर्षको घोषणा गरेका छन् । त्यसैगरी ४ संयुक्त पार्टीले घटनाको भत्र्सना गर्दै सरकार फासीवादमा उत्रिएको बताएका थिए ।