नेकपाका नेता बास्तोलालाई ६ दिन हिरासतमा राख्न आदेश

दुई नेतामाथि बास्तोलालाई भगाउन खोजेको आरोप

नेकपाका नेता बास्तोलालाई ६ दिन हिरासतमा राख्न आदेश

२ माघ, बुटवल । नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई जिल्ला अदालत, ललितपुरले एक साता हिरासतमा राख्न अनुमति दिएको छ ।
महानगरीय प्रहरी परिसर, ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार बास्तोलासँगै पक्राउ परेका विवेक कुमाल र रोजन रखालविरुद्ध पनि एक साताकै म्याद थप भएको छ ।
प्रहरीले बास्तोलाविरुद्ध तीनवटा कसुरमा अनुसन्धान अघि बढाएको छ । नख्खुमा एकजनाको मृत्यु र दुईजना घाइते हुने गरी २०७५ साल फागुनमा भएको बम विष्फोटन गराएको भनि मुद्दा लगाएको छ । त्यसवेलाको मुद्दामा उनी प्रतिवादी बनाइएका थिए ।

बाँस्तोलाविरुद्ध प्रहरीले बम विष्फोटन, हातहतियार तथा खरखजाना, चन्दा असूली, आपराधिक लाभ, राज्यविरुद्धको कसूर र संगठित अपराधको अभियोग लगाएको छ भने उनीसँगै बिहीबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट समातिएका अन्य दुई नेतालाई भने बास्तोलालाई भगाउने प्रयास गरेको अभियोग लगाइएको छ ।

बिहीबार प्रहरीले अपरेशन चलाइरहेका वेला कुमाल र रखालले बास्तोलालाई भगाउने प्रयास गरेको एसएसपी बज्राचार्य दाबी गरिन् । त्यसैले मुलुकी अपराध संहितामाको दफा १०२ मा भएको कसुर अनुसार दुवै जनाविरुद्ध अनुसन्धान भइरहेको उनले बताइन् ।

नेकपाले भने बास्तोलाको पक्राउविरुद्ध माघ १० मा नेपाल बन्द सहितको संघर्षको घोषणा गरेको छ । नेता बास्तोलाको रिहाइका लागी देश विदेशबाट माग गर्दै गिरफ्तारी विरुद्ध सर्वत्र विरोध समेत भएको छ ।