माघ १०, कपिलवस्तु । नेकपाले केन्द्रीय नेता धर्मेन्द्र बास्तोलालगायत नेता कार्यकर्तालाई सरकारले गैरन्यायिक ढंगले गिरफ्तार गरेको भन्दै त्यसको विरुद्ध शनिबार बन्दको प्रभाव आज देशभर परेको छ ।
कपिलवस्तुमा विहानैदेखि बन्दको प्रभाव परेको छ । जिल्लाका विद्यालय, बजार, उद्योगधन्दा खुलेका छैनन् भने सडकमा सवारीको आवतजावत पनि बन्द रहेको छ । फाट्टफुट्ट् मात्र मोटरसाइकल चलेका छन् । जिल्लाका चार नम्बर, तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, शिवगढी लगायतका क्षेत्र बन्द रहेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको चन्द्रौटामा विहानैदेखि ट्रकहरु रोकिएका छन् । रुपन्देहीको बुटवल, भैरहवा, मणिग्राम, भलवारी, देवदह, खैरेनी सालझण्डी, बासगढी, मुर्गिया, तामनगरका बजारहरु बन्द रहेका छन् ।
पाल्पाको तानसेन, रामपुर, बर्तुङ, आर्यभञ्ज्याङ लगायतका मुख्य बजारहरु, उद्योगधन्दा र यातायातहरु बन्द रहेको बताइएको छ । नवलपरासीका परासी बजार, बर्दघाट, टटेरा, सुनवललगायतका बजार, उद्योग, यातायात बन्द रहेको छ भने नवलपुरको कावासोती, डन्डा, गैडाकोट, ढुम्किबासलगायतका बजार, उद्योगहरु यातायात सबै बन्द रहेको छ ।
गुल्मीमा पनि बन्दको प्रभाव परेको हाम्रो संवाददाताले बताएका छन् । चितवन, दाङ अर्घाखाँची,रोल्पा, रुकुमलगायतका देशैभर बन्दको प्रभाव परेको छ । यातायात, उद्योग, व्यवसायहरु बन्द रहेका छन् । अत्यावश्यक एम्बुलेन्स, दम्कल, दुधको गाडीलगायत साधनहरु भने चल्न दिने नेकपा स्रोतले बताएको छ ।
बन्दको क्रममा अर्घाखाँचीको बसपार्क र पाल्पाका तानसेन नगरपालिकामा शंस्कास्पद वस्तु फेला परेको छ । अर्घाखाँचीको सन्धिखर्कमा शंस्कापद वस्तुलाई सेना र प्रहरीको टोली गएर अनुसन्धान गरिरहेको छ भने पाल्पाको भुसाल डाँडामा टोपको आवाज आएको स्थानीयले बताएका छन् ।
बम विस्फोट गराइएको छैन : नेकपा
अर्घाखाँचीको सन्धिखर्कमा भेटिएको शंकास्पद वस्तु र पाल्पामा भएको विस्फोट नेकपाले पार्टीले नगराएको बताएको छ । नेकपा स्रोत अनुसार बन्दमा विस्फोटको नीति रहेको भन्दै शान्तिपूर्ण नेपाल बन्दको आव्हान गरिएको बताएको छ । नेकपाका एक नेताले जनबाटोसँगको कुराकानीमा भने,“राज्यको दमन र नेता कार्यकर्ताको गिरफ्तारी विरुद्ध शान्तिपूर्ण ढंगले नेपाल बन्दलाई सहयोग गर्न सम्पूर्ण जनसमुदायलाई अपिल गरेका छौं ।” उनले विस्फोटबारे पार्टीलाई जानकारी नभएको बताए ।
नेकपाले केन्द्रीय नेता धर्मेन्द्र बास्तोलालगायत सम्पूर्ण राजबन्दीहरुको रिहाइको माग गर्दै आज माघ १० गते नेपाल बन्दको आब्हान गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्