माघ १०, बुटवल । बैतडीमा शंकास्पद बस्तु फेला परेको छ । महाकाली राजमार्गमा शंकास्पद बस्तु फेला परेको हो । राजमार्गको दोगडाकेदार गाउँपालिका–६ चम्तडीमा बीच सडकमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।
रातो कपडामा तारसहित बमजस्तो देखिने डल्लो बनाएको अवस्थामा उक्त बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए ।
शुक्रबार राति उक्त सडकमा जाँदै गरेको सवारी साधनका चालकले उक्त बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शंकास्पद बस्तु कसले र किन राखेको भन्ने खुल्न सकेको छैन । सो शंकास्पद बस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल जाँदै गरेको प्रहरीले जनाएको छ ।
शंकास्पद बस्तु फेला परेपछि रातिदेखि नै राजमार्ग अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।
त्यसैगरी अरनिको राजमार्गअन्तर्गत काभ्रेको बनेपा बुडोलमा प्रेसर कुकर बम सेनाले डिस्पोज गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भुपेन्द्र खत्रीका अनुसार बाटोमा अज्ञात समुहले राखिएको शंकास्पद वस्तु देखेपछि डिस्पोज गर्नको लागि नेपाल आर्मीको टोलीलाई बोलाइएको थियो । अनुसन्धानको क्रममा शंकास्पद वस्तु प्रेसर कुकर बम रहेको पाइएपछि डिस्पोजल टोलीले त्यसलाई डिस्पोज गरेको उनले बताए ।
शंकास्पद वस्तु देखेपछि बिहान ५ बजेदेखि राजमार्ग अवरुद्ध रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्