फागुन ११, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) पाल्पाले सोमबार जिल्लाको विभिन्न स्थानमा भागरथी भट्ट लगायत अन्य सबैको न्यायको लागि संघर्षका कार्यक्रम अन्तरगत विरोध प्रदर्शन गरेको छ ।
अखिल (क्रान्तिकारी) पाल्पा जिल्ला अध्यक्ष क.लङ्कले उक्त विरोध प्रदर्शनलाई सम्बोधन गर्दै भागरथी भट्टको बलात्कारपछि भएको मानवता विरोधी हत्याले अहिलेको सरकार, राज्य व्यवस्था र यसका सञ्चालकहरू देश र जनताको जीवन प्रति गैरजिम्मेवार रहेको स्पष्ट रहेको र संगठनद्धारा भागिरथी भट्ट लगायत देशैभरि भएका बलात्कार, हत्या र महिला तथा बालबालिकाहरू माथिका हिंसाका घटनाहरूको गम्भिर छानबिन गरी घटनाका दोषिहरूलाई कडा भन्दा कडा कारबाही गर्न जोडदार माग गरेका थिए।
उक्त विरोध प्रदर्शनमा हत्यारालाई कारबाही गर, अखिल (क्रान्तिकारी) जिन्दावाद, वैज्ञानिक शिक्षा लागु गर, शैक्षिक माफिया होसियार, यावत नाराहरू लगाइएको थियो ।
फागुन ९ गते लुम्बिनी ब्यूरो अन्तरगत रूपन्देही, कपिलवस्तु, नवलपुर, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाले जिल्लाका विभिन्न स्थानमा दीपपज्वलन कार्यक्रम सम्पन्न गरेको थियो ।
गत माघ २१ गते बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाको सिर्कोट स्थित सनातन माविमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय छात्रा भागिरथी भट्टको विद्यालयबाट फर्किने क्रममा बाटोमा बलात्कार पछि भएको हत्याको घटनाप्रति घोर निन्दा एवं भ्रत्सर्ना गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले फागुन ४ गते एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमहरूको घोषणा गरेको थियो । सोही संघर्षका कार्यक्रम अन्तरगत सोमबार अखिल (क्रान्तिकारी) पाल्पाले विरोध प्रदर्शन गरेको हो ।
(अखिल क्रान्तिकारी) केन्द्रीय समितिले घोषणा गरेका संघर्षका कार्यक्रमहरू :
फागुन ९ गते भागिरथी भट्ट लगायत सबैको न्यायका लागि देशव्यापी दिप प्रज्ज्वलन
फागुन १० गते देशव्यापी विरोध प्रदर्शन
फागुन मसान्तसम्म न्यायका लागि हस्ताक्षर संकलन अभियान संचालन गर्ने ।
फागुन १५ गते सम्म देशव्यापी स्थानीय निकायहरूमा छात्राहरूको सुरक्षा तथा आत्मरक्षाका लागि अनिवार्य तालिमको व्यवस्थाको लागि माग पत्र पेश गर्ने ।
प्रतिक्रिया राख्नुहोस्