लहानमा बम बिस्फोट : दिनेशकुमार भण्डारी गम्भीर घाइते

चैत १, सिरहा। सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज बम बिस्फोट घटनामा ८ जना घाईत भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीका अनुसार आइतबार दिउँसो पौने एक बजे बम बिस्फोट हुँदा एकजना गम्भिर घाइते भएका छन् ।

सेवाग्राही अन्दाजी ३० वर्षीय दिनेशकुमार भण्डारी गम्भीर घाइते भएका हुन् । गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीलाई हेलिकप्टरमा राखेर काठमाडौं ल्याइदैँछ।

उनको थप उपचारको लागि नेपाली सेनको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । दिनेशको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको प्रहरीले जनाएको छ ।

बिस्फोटमा परी घाइते भएका अन्य सात जनाको लहानको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बम विस्फोटमा परेर घाइते हुनेमा कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका-६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका-१६का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका-४का ३८ वर्षीय फुलकुमार ठाकुर, भगवानपुर गाउँपालिका-३का ५४ वर्षीय बद्रीनारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर छन्।

बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिएको छ । लामो समयदेखि मधेसमा गोइतले हिंसात्मक गतिविधि गर्दै आएका छन्। पछिल्लो समय उनको समूहका गतिविधि शुन्यप्राय भएका थिए।