-प्रविन न्यौपाने (स्वदेशी)
न खुवाउन सक्छ, न खुवाउन दिन्छ
रासन बाँड्नु पर्नेमा
शासन दिन्छ
मेरो सरकार
सत्तामा लिप्त छ
देख्दैन सडकका भोका पेट
र नाङ्गा आङहरू
सुन्दैन निमुखाका चित्कारहरू
मेरो सरकार
न आफूले बनाइदिन्छ घरहरू
किन जलाउँछ चेपाङका झुपडीहरू
मेरो सरकार
न अरुले गरेको देख्न चाहन्छ
न आफूले गर्न चाहन्छ
बाँदर नीति किन अपनाउँछ ?
मेरो सरकार
हत्या, हिंसा बढ्दै गर्दा
अन्य देशको तुलनामा कमी छ भनि
भाषण दिन्छ
मेरो सरकार
मेरो प्रश्न छ कमरेड बादल तिमीलाई
युरोपको मृत्युदर कम छ
के तिमी मर्न तयार छौ ?
राष्ट्रवादी बन्नुपर्नेमा
‘रअ’वादी किन बन्छ ?
मेरो सरकार
हिजोको कम्युनिष्ट
आज कमाउनिष्ट
हिजोको वामपन्थी
आज दामपन्थी
किन बन्दैछ ?
गणतन्त्रको खोल ओढेर पनि
निरङ्कुशको अङ्कुश किन लगाउँछ ?
मरुभूमिमा पानी पलाउँला तर
तिम्रो मनमा दया किन पलाउँदैन ?
विकासका नाममा भष्ट्राचार मौलाउँदै
सरकारको मगज झनझन् थल्बलाउँदै
राष्ट्रियता ढल्बलाउँदै छ
स्वतन्त्रता खल्बलाउँदै छ
विदेसी दलाल सल्बलाउँदै छ
मेरो सरकार
याद राख
मेरो सरकार
मान्छेको मति बिग्रिए खति हुन्छ
मर्ने बेलामा कमिलाको प्वाँख पलाउँछ
जङ्गल छाड्दा सिंहले पनि
जोड जोडले कराउँछ ।
(लालदिशा)
प्रतिक्रिया राख्नुहोस्