Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
कोभिड प्रभावित एवं बाढीपीडितलाई रुपन्देहीका युवाले बाँडे राहत - Janabato
कोभिड प्रभावित एवं बाढीपीडितलाई रुपन्देहीका युवाले बाँडे राहत

लक्ष्मण पौडेल । तिलोत्तमा । कोभिडबाट प्रभावित एवं बाढीपीडित परिवारलाई धादिङ पुगेर रुपन्देहीका युवाले राहत वितरण गरेका छन् । धादिङ मजनटारका ५५ घर परिवारलाई रुपन्देहीका युवाहरुले राहत वितरण गरेका हुन् ।

‘हाम्रो अभियान’ मार्फत सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएका तिलोत्तमा रुपन्देहीका युवाहरुले अप्ठेरो अवस्थामा परेका विपन्न परिवारलाई २० किलो चामल, एक लिटर तेल, एक किलो नुन, सोयाबिन लगायतका खाद्य सामग्री वितरण गरेका हुन् ।

राहत वितरणको टोलीलाई तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डे र समाजसेवी बाबुराम पाठकले बिदाइ गरेका थिए । हाम्रो  अभियानका संयोजक सुनिल पाठक र विष्णु खरेल पीडित परिवारलाई राहत प्रदान गर्न धादिङ पुगेका थिए ।

तिलोत्तमा–१ का वडाध्यक्ष पाण्डेले युवाहरुले अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गरेर सह्रानीय काम गरेको भन्दै प्रशंसा गरे । अभियानको नेतृत्व गरेका सुनिल पाठकले प्रभावितको पीडामा आफूहरुले थोरै भएपनि मलम लगाउने काम गरेको बताए । ‘लामो समयदेखि कोरोना महामारी कायम रहेको र असार लागेसँगै आएको बाढीका कारण प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेका हौं”उनले भने ।

उनले हाम्रो अभियान अप्ठेरोमा परेका परिवारहरुको साथमा रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए । “महामारीबाट र बाढी पहिरोबाट अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गर्नु र उनीहरुको दुःखसुखमा साथ दिनु हाम्रो दायित्व हो, अप्ठेरो पर्दा हाम्रो संगठन पीडितहरुकै साथमा छ”–उनले भने ।
समाजसेवी बाबुराम पाठकले महामारीबाट प्रभावितलाई राहत वितरण गरेर संगठनले रचनात्मक काम गरेको बताए ।