युवा संगठन नेपाल म्याग्दीको प्रथम भेला

विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित

युवा संगठन नेपाल म्याग्दीको प्रथम भेला

उषा घर्ती मगर । चैत १०, म्याग्दी । युवा संगठन नेपाल म्याग्दीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले नवीन विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा उज्जवल केसी, सचिवमा टंकप्रसाद पौडेल र कोषाध्यक्षमा मनबहादुर रोका रहेका छन् । 

भेलालाई सम्बोधन गर्दै नेकपा धौलागिरी ब्युरो इन्चार्ज धु्रव घिमिरे (विप्लव) ले आजको युवाहरुको समाधान क्रान्तिले दिने बताउदै पुँजीवादी व्यवस्थाको विरुद्ध संघर्षमा युवाहरु एकीकृत हुन आवश्यक भएको बताउनु भएको छ । इन्चार्ज विप्लवले विश्व क्रान्तिको इतिहासमा युवाहरुको भूमिका महत्वपूर्ण भएको भन्दै एकीकृत जनक्रान्तिमा पनि युवाहरुले काँध थाप्न जरुरी रहेको बताउनु भयो । उहाँले एकीकृत जनक्रान्ति विचारको शक्तिशाली हतियार भएको समेत बताउनु भयो । 

भेलामा नेकपा म्याग्दी जिल्ला इन्चार्ज दीपा, मुस्ताङ जिल्ला इन्चार्ज फिल्टर, ब्युरो कार्यालय सदस्य नवीन, अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सचिव उषा घर्ती मगर, युवा संगठन नेपालका ब्युरो इन्चार्ज बिजय, अखिल (क्रान्तिकारी) ब्युरो संयोजक सुरेन्द्र बस्नेतलगायतको उपस्थिति रहेको थियो । नवीन विश्वकर्माको सञ्चालन र रमेश पुनको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।