‘प्रचण्डले पार्टी एकता गर्दा माओवाद नै छोडेर गए’ : नेता भुसाल 

महासचिव विप्लवलाई कुनै पद र प्रतिष्ठाको लोभ छैन ।

‘प्रचण्डले पार्टी एकता गर्दा माओवाद नै छोडेर गए’ : नेता भुसाल 

बुटवल । नेकपाका नेता तथा रणनीतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य भेसराज भुसालले प्रचण्डले नेकपा (एमाले) संग पार्टी एकता गर्दा माओवाद नै छोडेर गएको टिप्पणी गरेका छन् । 

बुटवलमा लेनिन दिवस तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको सन्दर्भमा समाजवादी अभियान नेपाल रूपन्देहीद्धारा आयोजित ‘सहिदका सपना र हाम्रो भूमिका विषयक साझा सवाल’ कार्यक्रममा बोल्दै नेता भुसालले प्रचण्डहरूले मार्गदर्शक सिद्धान्त नै छोडेकाले तत्काल उनीहरूसंग पार्टी एकता सम्भव नभएको बताए । उनले एकता गर्ने प्रक्रियामा अगाडी बढ्ने हो भने बिना आग्रह र बिना पूर्वाग्रह निर्मम ढंगले विगतको समिक्षा गर्नुपर्ने बताए । उनले नयाँ जनवादका बाँकी कार्यभारलाई पूरा गर्दै वैज्ञानिक समाजवाद प्राप्तिको लागि अगाडी बढ्ने कुरामा आम रुपमा गम्भीर रुपमा छलफल र बहस चलाउनुपर्ने बताए । 

नेता भुसालले मोहन वैद्य ‘किरण’, ऋषि कट्टेल र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको पार्टीसंग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गरेको र उक्त मोर्चाले कार्यगत एकता हुँदै पार्टी एकतासम्मको लक्ष्य राखेको बताए । तर दलाल संसदीय व्यवस्थालाई सुदृढ गर्ने, फेरि चुनावमा बहुमत ल्याएर सरकार बनाउने किसिमले मात्रै आफूहरू एकतामा अगाडी बढ्न नसक्ने बताए ।

नेकपा र नेकपाका महासचिव विप्लवको बारेमा केही जिम्मेवार मिडियाहरूले नै झुटा समाचार सम्प्रेषण गरेको र त्यस्ता भ्रामक समाचारप्रति विश्वास नगर्न समेत भुसालले अपिल गरे । उनले भने, ‘महासचिव विप्लवलाई कुनै पद र प्रतिष्ठाको लोभ छैन, हामी हाम्रो नेतृत्वप्रति पूर्ण विश्वस्त छौ ।’