अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा राहत वितरण

कपिलवस्तु । नेकपा निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले बुधबार जिल्लाको कपिलवस्तु बाल गृहमा राहत वितरण गरेको छ । बाल गृहमा विभिन्न जिल्लाका अनाथ बालबालिकाहरू रहेका छन् ।

बाल गृहमा अत्यावश्यक खाद्य सामग्री र स्वास्थ्य सामाग्रीहरू चामल ३० केजी, दाल ३० केजी, तेल–तरकारी १६  केजी, मास्क ५०० पिस, सेनिटाइजर ५ लिटर, नुन १० केजी, साबुन १२ पिस वितरण गरेको सङ्गठनका कपिलवस्तु जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताए ।

राहत वितरण कार्यक्रममा अध्यक्ष विज्ञानले यस्तो जटिल अवस्थामा बालगृहमा खाद्य संकट हुँदा पनि नाम मात्रको स्थानीय सरकार बेखबर भएको आरोप लगाए । उनले बालबालिकाको भविष्यप्रति राज्य गैरजिम्मेवार भएको भन्दै सबै नागरिकले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरि बालबालिका तथा सबै उत्पीडित जनताको ज्यान बचाउन र यो कोरोना भाइरस विरुद्ध एक भएर लड्न तयार हुनुपर्ने बताए ।  यस्तो अभियानमा सबै जिल्लाका उद्योग, व्यवासायी, बुद्धिजीवी, पत्रकार, प्रशासनिक निकाय सबै मिलेर अघि बढ्नु पर्ने उनको भनाई थियो । 

अध्यक्ष क्षेत्रीले उक्त खाद्य र स्वास्थ्य सामग्री सहयोग गर्ने सहयोगी मनहरू, व्यवसायी, समाजसेवी लगायतमा धन्यवाद व्यक्त गर्दै जिल्लाको जो सुकै नागरिकलाई समस्या पर्दा अखिल (क्रान्तिकारी)लाई सम्पर्क गर्न अपिल समेत गरेका थिए ।