बुटवल । नेकपाका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले कम्युनिस्ट आन्दोलनलाई सफल पार्न एकीकृत जनक्रान्तिको कार्यदिशा अघि सारेको बताउँदै छरिएर रहेका क्रान्तिकारी शक्तिहरूलाई नेपाल कम्युनिस्ट पार्टीमा गोलबन्द हुन अपिल गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) को आयोजनामा ‘वर्तमान राजनीतिक सङ्कट र अबको विकल्प’ विषयक अन्तरक्रिया कार्यक्रलाई सम्बोधन गर्दै नेता बास्तोलाले सो अपिल गरेका हुन् । उनले भने – ‘अहिलेको सन्दर्भमा कम्युनिस्ट आन्दोलन बचाउने र सफल पार्ने कार्यक्रम हामीले सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा हो, त्यसैले क्रान्तिकारीहरूका लागि यो नयाँ आयाम र प्रयोग भएको हुँदा छरिएर रहेका क्रान्तिकारी शक्तिहरू नेपाल कम्युनिस्ट पार्टीमा गोलबन्द हुन आवश्यक छ ।’
उक्त कार्यक्रमका प्रमुख वक्ता (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देशक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल थिए भने अन्य वक्ताहरूमा नेकपा संयोजक ऋषिराम कट्टेल तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले वर्तमान राजनीतिक सङ्कट र अबको विकल्पका विषयमा चर्चा गरेका थिए ।
संयुक्त रणनीतिक मोर्चामा सामेल चार दल निकटका चार विद्यार्थी सङ्गठनले पनि अन्तरक्रियामा सहभागिता जनाएका थियो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनबाट संयोजक राजेश्वरी सुवेदी, अखिल नेपाल विद्यार्थी युनियनका संयोजक मनीष भट्टराई र उपाध्यक्ष शिलु न्यौपाने, महासचिव पेशल दाहाल, कोषाध्यक्ष रञ्जित शाहलगायतका विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो । विद्यार्थी नेतहरूले वर्तमान राजनीतिक सङ्कट र अबको विकल्प विषयक अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्दै चर्चा गरेका थिए ।
कार्यक्रमको सञ्चालन र कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्