कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले जनता कोरोना महामारी र लकडाउनको चपेटामा परेको यो जटिल परिस्थितीमा जनतमा उत्पन्न भएका विभिन्न समस्याहरूको बारेमा सम्बन्धीत निकाय र राज्यलाई जिम्मेवार बन्न ध्यानाकर्षण गराएको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज ओम प्रकाश पुन ‘निर्माण’ र जिल्ला सचिव रमेश परियार ‘जीवन’द्वारा जारी विज्ञप्तिमा राज्यले यो जटिलताका बीचमा देखाएको अनुत्तरदायी भूमिका र गलत नीतिका कारण आम जनताको जनजीविका, जनतन्त्रमा विभिन्न समस्याहरू सिर्जना भएको र सम्बन्धीत निकायले यसको समाधानको लागि पहल कदमी लिनको लागि अपिल समेत गरिएको छ ।
विज्ञप्तिमा कोरोना उपचारको नाममा सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुमा भैरहेको अनियमितता, महंगी, बेवास्ता र भ्रष्टाचारको कडा अनुगमन र नियन्त्रण गर्नमाग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जनता अब क्रमशः रोगबाट भन्दा पनि भोकबाट मर्ने अवस्था सृजना हुदै गएको छ । राज्यबाट कुनै राहतका कार्यक्रम घोषणा गरिएको छैन । कथित एकद्वार प्रणालीको नाममा दाताहरुलाई सहयोग गर्ने वातावरण पनि सृजना गरिएको छैन । कोरोना संकट बढीरहेको अहिलेको अवस्थामा पनि नागरिक भारततर्फ रोजगारिको लागि जाने क्रम जारी छ । यसलाई तत्काल रोकी राज्यको तर्फबाट श्रमिक तथा गरिब जनताको लागि उचित राहतका कार्यक्रम लागु गरियोस् ।
कञ्चनपुर जिल्ला कोरोना संकटग्रस्त र सिमावर्ती जिल्ला पनि भएकोले राज्य प्रशासनको तर्फबाट उचित व्यवस्थापन र नागरिकको तर्फबाट उच्च सर्तकता अपनाउनु पर्नेछ । त्यसको लागि सबै पक्षको सहकार्य र समन्वयको लागि पनि हामी सबैमा हार्दिक अपिल गर्दछौं ।’
प्रतिक्रिया राख्नुहोस्