युवा विद्यार्थीहरूबारे

आजको युवा विद्यार्थीबारे संक्षिप्त टिप्पणी

युवा विद्यार्थीहरूबारे

“संसार तिमीहरूको हो, हाम्रो पनि हो, तर अन्तिम विश्लेषणमा तिमीहरूकै हो । शक्ति र चेतनापूर्ण तिमी युवकहरू विहान आठ–नौ बजेको सूर्य झैं जीवनको फक्रँदो बेलामा छौ । हाम्रो आशा तिमीहरूमै रहेको छ ।” 
क. माओ, (मास्कोमा चिनियाँ विद्यार्थी र तालिमेहरुको सभामा प्रवचन, नोभेम्बर १७, १९५७)

नयाँ जोश र तातो रगतको अर्को नाम हो–युवा । जसलाई समाजले आशालाग्दो र भरपर्दो शक्तिको रूपमा लिने गर्दछ । भविष्यका उत्तराधिकारी पनि युवा विद्यार्थीहरू हुन् । समाजका सबैभन्दा सचेत, उर्जाशील एवं जिम्मेवार भनेकै युवा विद्यार्थी हो । देशले युवाहरुमाथि धेरै अपेक्षाहरु राखेको हुन्छ भन्नेबारे कुरा अहिलेको अवस्थामा अझ गहिरो बोध हुँदैछ । 

कमरेड माओत्सेतुङले भनेजस्तै देशको भविष्य युवाहरूको काँधमा आएको छ । युवाहरु माक्र्सवादी चेतना र उर्जाले विहानको सूर्यझैं चम्किलो हुनुपर्छ । आजको समाजलाई पुँजीवादका नगराहरुले चिथोरिरहेको बेला युवा विद्यार्थीहरू त्यसलाई राजनीतिक वैचारिक दृष्टिले त्यसको प्रतिरोध गर्न सक्षम हुनुपर्छ । समयको गतिअनुसार युवा विद्यार्थीहरूको हरेक बिषयमा रूचि हुनु अस्वभाविक होइन, तर जनताले भोगका समस्याहरू विरूद्व जुध्नु आजको युवा विद्यार्थीहरूको मूल आवश्यकता हो । यो उमेर समूह हरेक क्षण नयाँ कुराको खोजी गर्ने समय हो । भावी जीवनवारे चिन्तन गर्ने र गन्तव्यको खोजी गर्ने महत्वपूर्ण समय पनि हो । त्यसैले युवाहरुका लागी यो उमेर समूह भनेको सङ्घर्षको उमेर समूह हो । यो समयलाई चिन्न नसक्दा कयौं युवाहरू विचलित भएर गलत दिशामा गइरहेको समेत देखिन्छ । परिस्थितिसँगको प्रतिवादमा असफल भएर गन्तव्यहीन यात्रामा भौतारिदै हिँडिरहेको अवस्था पनि छ । समयको गतिवान प्रवाहबाट गन्तव्य पहिचानको क्रममा टुटेपछि भौतारिन बाध्य पारिन्छन् उनीहरू । 

अर्कोतर्फ असीमित भौतिक आवश्यकता र सीमित आर्थिक व्यवस्थापनका कारण कैयन अभाव, सङ्कट र पिरलोहरूको असन्तुलन झैल्दै अगाडी बढ्नु परेको महसुस हुने गर्दछ । कतिपयलाई जीवनको सुरुवाती चरण नै निकै कठिन अवस्थाहरू हुँदै बाँच्नु र अगाडी बढ्नु परेको हुन्छ । जस्तोसुकै समस्या भएतापनि आफूलाई परिपक्क बनाउदै युवाहरू निरन्तर सङ्घर्ष गर्दै अगाडी बढ्नुपर्छ । तथापी अप्ठ्यारोसँग टकराउन सक्नु अथवा प्रतिरोधी क्षमताको विकास गर्दै समस्या र दुःखहरूबाट पाठ सिक्ने र डटेर सामना गर्ने अवसरको रुपमा यसलाई लिनुपर्दछ । चुनौतीहरुलाई तिनले सामना गर्न सक्दछन् जोसँग “सानो झिल्कोले संसार डढाइदिन सक्ने” शाहस बाँकी हुन्छ । 

आजका युवाहरुले जीवनका हरेक निराशा, चिन्ता, पलायन, विसर्जनका चुनौतीहरूमाथि विजय प्राप्त गर्नुपर्दछ । हाम्रा अग्रज पुस्ताहरूले नलडेको भए वा हरेश खाएर भागेको भए आजको मानवसमाज यो अवस्थामा आइपुग्न सम्भव थिएन । प्रविधि क्षेत्रमा भएको उच्चतम विकासलाई समेट्दै समाजवादी क्रान्तिको आवश्यकतावारे युवाहरुले ध्यान दिनुपर्दछ । त्यही उचाइँबाट विषयको गंभीरतालाई आत्मसात गर्दै श्रमजीवी सर्वहारावर्गको मुक्तिका लागी सङ्घर्षको अग्रभागमा आफुलाई समर्पित गर्नुपर्दछ । जीवन र जगतलाई बुझ्ने, त्यसलाई वर्गसङ्घर्षको माध्यमद्वारा बदल्ने र त्यसको रक्षा गर्ने अभिभारालाई आजका युवाहरुले ध्यान दिनुपर्दछ । त्यो भनेको सामाजिक जिम्मेवारीलाई बोध गर्दै राष्ट्रिय जिम्मेवारी एवं आवश्यकतालाई पुरा गर्न तर्फ लाग्नु पर्दछ भन्ने हो । त्यहाँ पुग्नका लागी हाम्रा सोँच्ने र बुझ्ने तरिकाहरु सही हुनुपर्दछ । जीवन सङ्घर्षको क्रममा कहिलेकाँही अप्ठ्याराहरु देखा पर्दछन् । त्यसलाई सही र वैज्ञानिक ढंगले हल गर्ने प्रयत्न गर्नुपर्दछ । हरेक घटनाक्रमहरुलाई वस्तुनिष्ट ढंगले हेर्नु, बुझ्नु र विश्लेषण गर्न सके काम कार्वाहीहरू उत्साहजनक मात्र होइन परिणाममुखी हुनेछन् र त्यसले समाजलाई नयाँ मार्गमा हिँडाउन सकिन्छ । 
श्रमजीवी वर्गले आफ्नो वर्गको मुक्तिकामी सङ्घर्षको क्रममा कयौं चुनौतीहरुमाथि विजय प्राप्त गरेर यहाँसम्म आइपुगेको हो । श्रमजीवी वर्गले गरेको मुक्तिकामी सङ्घर्षमा युवा विद्यार्थीहरुको महत्वपूर्ण योगदान रहँदै आएको छ । प्रत्येक युवा विद्यार्थी श्रमको महत्वलाई बुझ्नुपर्दछ र आफुलाई श्रमसँग जोड्नु अनिवार्य हुन्छ । जसले यसको महत्वलाई बुझ्दैनन् उनीहरु उमेर र युनिफर्मले मात्र युवा देखिन्छन् । 

केही युवाहरु आफु पोख्त भएको कसैको कुरा सुन्न नचाहने, झञ्झत मान्ने र टर्किने गर्दछन् । उनीहरु समाजमा घट्ने घटना र सन्दर्भहरुलाई कसरी बुझ्ने भन्दा पनि दिक्क लागेको अभिव्यक्ति दिने गर्छन् । उनीहरु दलाल पुँजीवादको दासजस्तै जीवन बाँचिरहेका छन् । यी समस्याहरुलाई हल गर्दै जान सक्ने कुशल कारिगढको भूमिका युवाहरुले खेल्नुपर्दछ । समाज भोगाई र परिवेशभन्दा परबाट सोँच्ने बानीहरुलाई क्रमशः बदल्नु पर्दछ । साथै जीवन्त, यथार्थ र वस्तुस्थिति अनुसारको जीवनशैली बनाउनुपर्छ । त्यसो नगरी सामाजिक गतिले गर्ने प्रगति र दुर्गतिका कारणहरु बुझन सकिदैन । त्यसो हुन नसक्दा एउटा व्यक्तिको मात्र कुरा होइन, सिंगै एउटा पुस्ता र समाजको पश्चगामी यात्रामा रुमलिने खतरा आउँछ । आज नेपाली समाज अत्यन्त पिछडिएको अवस्थामा रहिरहनुको धेरै कारणहरु मध्ये एउटा प्रतिनिधि कारण यो पनि हो । 

युवा विद्यार्थीहरूले समयसापेक्ष क्षमताको विकास गर्दै जीवन यात्रालाई अगाडी बढाउनुपर्छ । के गर्दा राम्रो हुन्छ र हुँदैन ? भन्नेवारे समाजको आफ्नो नियम छ । त्यो भनेको पुर्खाहरुले प्रकृतिसँगको सङ्घर्षको क्रममा प्राप्त गरेका अनुभवसिद्व ज्ञानहरू र मूल्य मान्यताहरूको हो । समाजमा हरेक व्यक्तिहरुको दिनचर्यालाई नयाँ सामाजिक मूल्य मान्यताहरूको आधारमा नै अगाडी लैजानुपर्छ र यसले समाजलाई नयाँ गति दिदै जान्छ । त्यही प्रक्रियाले युग अनुकूल नयाँ र वैज्ञानिक मान्यताहरु स्थापित गर्दै जाने स्थिति बन्छ ।  

आधुनिकताको नाममा भित्रिएको पश्चिमा छाडा संस्कृति नेपाली समाजको बाधक बनिरहेको बेला युवाहरू सामाजिक अगुवाको रुपमा डटेर लाग्नुपर्दछ । वैज्ञानिक समाजवादी विचार र चेतनाको अभावमा समाजका अवस्थाहरू अन्यौलपूर्ण रहिआएका छन् । जसले समयक्रम अनुसार बदलिँदै गरेको सामाजिक स्थितिहरुलाई आत्मसात गर्न सक्दैनन् । निरन्तर फेरबदल भइरहने समय र समाजवीचको अन्तरविरोधलाई सापेक्षिक सन्तुलन कायम गर्नमा नौजवान युवाहरुले नै काँध थाप्नु पर्ने हुन्छ । गतिशील समय र समाजलाई दोहो¥याउँदै जानुपर्दछ । कतिपय युवाहरुको गलत चिन्तन र प्रवृत्तिका कारण दलाल पुँजीपति वर्ग (सामाजिक दलाल पुँजीपति वर्ग) र तिनका पार्टीहरुले चुनाव, ठेक्कापट्टा, चोरी निकासी, घुसखोरी र गुण्डागर्दी तस्करीमा युवा तागतको हदैसम्म दुरुपयोग गर्दै आएका छन् । ती गलत विचार, व्यवहार र भ्रमपूर्ण योजनाहरुको चिरफार गर्दै सुन्दर वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको उत्कृष्ट विचारलाई आत्मसात गर्दै अगाडी बढ्नुपर्दछ र यो महाअभियानमा आफ्नो पंक्ति र समग्र जनसमुदायलाई सँगसंगै लैजानुपर्दछ । जनताको सचेत पहलकदमीमा दुँनियामा कुनै पनि तानाशाह सत्तामा टिक्न सकेको छैन र त्यो ऐतिहासिक सच्चाइलाई आत्मासात गर्दै निरन्तर क्रान्तिलाई जारी राख्नु पर्दछ । 

जबसम्म साम्यवाद प्राप्तिको अभिलाषा पुरा हुँदैन क्रान्तिको आवश्यकता रहिरहन्छ । ती सबै क्रान्तिहरुमा युवा विद्यार्थीहरुले भाग लिइरहने र क्रान्तिलाई विजयमा पु¥याउने कुरा नै प्रमुख दायित्व हो ।  देश, काल र परिस्थिति सापेक्ष युवाहरुले आफ्नो भूमिका पुरा गर्न तयार हुनुपर्दछ । जिन्दगीका हज्जारौं ठक्कर खाएर चौतारीमा भारी बिसाउन आइपुगेका पुरानो पुस्ताले यो भन्दा अझै धेरै सङ्घर्षमा भाग लिइरहन त्यति सजिलो छैन । जसरी भर्भराउँदो नयाँ युवा विद्यार्थीको पुस्ता क्रान्ति यात्रामा आइपुगेको छ । त्यसैले क्रान्तिको कुशल नेता वा ड्राइभर त्यही नै हो जसले क्रान्तिलाई सुरक्षित र सुन्दर गन्तव्यसम्म पु¥याउन सक्छ । उसमा नै ती गुणहरु हुन्छ जसले हरेक चुनौतिहरुलाई चिर्दै निरन्तर अगाडी बढीरहन्छ । आजको नेपालमा दलाल पुँजीवाद तथा संसदीय व्यवस्थाले निम्त्याएको अराजकता, बेथिति विरुद्ध लड्न हामीले एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा प्राप्त गरेका छौं । नेपालमा संसदीय राजनीतिक व्यवस्थाले ल्याएको जनविरोधी नीति, राष्ट्रघात, जनघातहरुको शसक्त भण्डाफोर गर्दै र सर्वहारा श्रमीकवर्गलाई सचेततापूर्वक प्रशिक्षित गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडी बढिरहेको छ । संसदीय अराजकताले फैलाएको वितृष्णाका कारण सही र गलत के हो ? भन्ने कुरा ठीक ढंगले बुझ्न नसक्दा सबै पार्टीलाई एउटै डालोमा हाल्ने बिडम्बनापूर्ण अवस्था पनि रहेको छ । यसले युवाहरूलाई विचारशून्य र जीवनशून्य बनाउँदै लैजाने खतरा छ । यसबाट बच्न युवाहरुले सामाजिक अन्तरविरोधको सही र गहिरो अध्ययन गर्दै वर्गसङ्घर्षमा भाग लिन जरुरी छ । 

आज सही दर्शन वा दृष्टिकोण अभावका कारण युवाहरु गलत दिशातिर जाने खतरा बढिरहेको छ । जसका कारण समाज भयावह अवस्थातिर गइरहेको छ । यसको मुख्य कारक नेपालमा दलाल सामाजिक फाँसीवादी सत्ता हो । योे चर्को करबृद्धि भ्रष्टाचारी, दलाली, कमिशनखोरीको रुपमा अभिव्यक्त भएको छ । अहिलेको ओली–प्रचण्ड नेतृत्वको सरकार त्यही विचार दर्शन र राजनीतिक कार्यदिशाको परिणाम हो । युवा विद्यार्थीहरुले आदर्शवादी दर्शनमा आधारित पँुजीवादी पार्टीहरुको जनविरोधी विचार दर्शन र राजनीतिक कार्यक्रमहरुको भण्डाफोर गर्दै एकीकृत जनक्रान्तिको कार्यभारलाई पुरा गर्नु पर्नेछ । आज साम्राज्यवादको इशारामा गाउँ गाउँमा सिंहदरवार पु¥याउने नाममा दलालहरुले क्रान्तिलाई भौतिक र वैचारिक रुपमा सिध्याउन दुष्प्रयास गरिहेको छ । ठूला–ठूला भ्रष्टाचार भएका छन् र कथित जनप्रतिनिधिहरुले बैधानिक लुट मच्चाइरहेका छन् । क्रान्तिलाई असफल पार्ने खेलमा लागिरहेका छन् । देश पराधिनताको चंगुलमा फस्दै गइरहेको संगीनपूर्ण परिस्थितिलाई आत्मसात गर्दै युवाहरुले उच्च बलिदानी भाव र साहसका साथ देशलाई स्वाधीन र सक्षम बनाउने अभियानको नेतृत्व गर्नु पर्दछ । राष्ट्रिय मुक्ति युद्वको अभियानमा लामबद्ध भएर युवाहरुले देश बचाउने बेला आएको छ । युवाहरुले ख्याल नगर्ने हो भने साम्राज्यवादले विस्तारै देश सिध्याउने नीति लिएको छ र एकीकृत जनक्रान्तिको विचारद्वारा त्यसको प्रतिरोध आवश्यक छ । यसप्रकारको राष्ट्रिय स्थितिमा एकपटक क्रान्तिद्वारा धक्का दिनुपर्दछ । युवाहरु दलालहरुको दासताबाट मुक्त हुने र वैज्ञानिक समाजवादी शिक्षाका लागी जनविश्वविद्यालयमा भर्ना हुने कुरालाई विशेष ख्याल गर्न जरुरी छ । 

भारतीय साम्राज्यवाद र त्यसको पिछलग्गु अहिलेको सामाजिक दलाल पुँजीपति वर्ग र नेपाली सर्वहारा श्रमिक वर्गवीच सङ्घर्ष चलिरहेको छ । सर्वहारा श्रमिक वर्गको नेतृत्व नेकपाले गरिरहेको छ भने सामाजिक दलाल पुँजीपतिवर्गको नेतृत्व ओली–बादलहरूले गरेका छन् । सामाजिक दलाल पुँजीवादी सत्ताले चलाएको फाँसीवादी अभियान विरुद्व हामीले प्रतिरोधी अभियान चलाइरहेका छौं । नेपालको नयाँ वस्तुगत परिस्थितिमा आधारित भएर शंश्लेषित एकीकृत जनक्रान्तिको सही कार्यान्वयनले मात्र नेपाली सर्वहारा श्रमीक वर्ग मुक्ति सम्भव छ । यो अभियानमा आजका युवा तथा विद्यार्थीहरुले आफ्नो कार्यभार पुरा गर्न तयार हुनुपर्दछ । 

(लालदिशा)