नेपाली समाजको समग्र क्षेत्रका पठन संस्कृतिप्रति रुची घट्दो छ । अझ राजनीतिक दलका नेता कार्यकर्ताहरूमा यो प्रवृत्ति मौलाउँदो छ । संसदीय राजनीतिमा उनीहरुलाई समृद्धि र विकासका हावादारी गफ चुटेर बस्नुले फुर्सद छैन । अध्ययन गर्नुभन्दा ठेक्कापट्टा, गुण्डागर्दी, दुई नम्बरी धन्दा, गरुण पुराण, स्त्री लम्पट, बर्ड डे मनाउन, दारु र लिपिस्टिकमा लम्पत भएर दोहोरी साँझको रामरमाइलो नै प्रिय छ । पार्टी र क्रान्तिको नाम भजाएर धन सम्पत्ति थुपार्ने कमाउधन्दाले निद्रा लागेको छैन । पैसाको बिता सिरानीमा च्याप्न पायो भने देश बेच्न समेत तयार हुने र सहिदको नाउँमा पैसा उठाएर ‘जाँडपार्टी’ गर्ने संस्कृति छ । पैसा पाए अर्थात् नाफा कुम्ल्याउन पाए ‘पार्टी क्रान्ति भाँडमा’ संस्कृति डरलाग्दो छ । क्रान्तिकारी पार्टीभित्र पनि यो समस्या छिटपुट छ । उनीहरूमा नेताको चाकडी गर्ने र आफ्नो दूनो जति सकिन्छ आपूmतिर सोझ्याएर स्वार्थ पूरा गर्ने प्रवृत्ति छ । सत्ताधारी र वर्तमान वुर्जुवा सत्ताका पक्षपाती राजनीतिक दलहरू सबैको अवस्था यही छ ।
पछिल्लो पटक क्रान्ति गर्ने अग्रगामी विचार, राजनीति, दर्शन बोकेका क्रान्तिकारी धारका कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूमा पठन संस्कृतिको विकास हुँदै गएको छ । कम्युनिस्ट पार्टी भनेको वास्तवमा नेताहरुको पार्टी हो । अर्थात् कम्युनिस्ट पार्टीका नेताहरु बुद्धिजीवी हुन् र श्रमजीवी जनताको समाजलाई बुद्धिजीविकरण गदै कम्युनिस्ट समाज निर्माण गर्नुपर्छ । त्यसैले कम्युनिस्ट नेताहरु अध्ययनशील हुनु जरुरी छ । अर्थात् पठन संस्कृतिको विकास गर्ने भनेको नियमित रूपमा अग्रगामी दर्शन, विचार, राजनीति एवम् संस्कृतिका पाठ्यसामग्रीहरूको अध्ययन चिन्तन मनन गर्नु हो । साथै आपूmले अध्ययन गरेका विषय तथा मूल्यमान्यतामा बहस गर्ने, अनुसन्धान गर्ने तथा स्थापित मूल्य मान्यताहरूलाई तर्कसङ्गत ढङ्गले समर्थन या विरोध गर्ने क्षमताको विकास गर्नु पठन संस्कृति हो । पठन संस्कृतिले ज्ञान, बुद्धि, विवेक एवम् सामाजिक मूल्यमान्यता प्राप्त गर्नमा पनि सहयोग गर्छ । कुनै पनि विषयवस्तुमा गहिरो ज्ञान प्राप्त गर्न र ती ज्ञानलाई व्यवहारमा उपयोग गर्न पठन संस्कृति अत्यन्त उपयोगी हुन्छ । अझ कम्युनिस्ट पार्टीको सदस्य हुनु भनेको कम्युनिस्ट विश्वविद्यालयमा भर्ना हुनु हो । कम्युनिस्ट पार्टीको सदस्य अनुशासित र अध्ययनशील हुनु जरुरी छ । पछिल्लो समय केही नयाँ कितावहरु प्रकाशित भएका छन् । नेपाली समाजको पठन संस्कृतिको खडेरीलाई चिर्न नयाँ पुस्तकहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा र नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेको संशोधनवाद र आत्मसपर्मणवादले जबर्जस्त गाँजिरहेको बेला दार्शनिक वैचारिक रुपमा नयाँ शिराबाट छलफल गर्नुपर्ने आवश्यकता बढेर गएको छ । यो आवश्यकतालाई परिपूर्ति गर्न पुस्तकहरुले भूमिका खेल्न सक्छन् । नेपाली समाजमा क्रान्तिकारी पुस्तकहरुको माग बढिरहेको छ । कम्युनिस्ट पार्टीभित्र नियमित स्कुलहरु संचालन भइरहेको छ । स्कुलमा कम्युनिस्ट नेता कार्यकर्ताहरु भाग लिइरहेका छन् । स्कुलले विश्वदृष्टिकोण निर्माणमा सहयोग गरिरहेको छ । यसले पनि पुस्तक अध्ययनको रुचि बढाएको छ । पुस्तकहरुको प्रकाशन र त्यसको अध्ययनले नेपाल क्रान्तिकारीहरुको उर्बरभूमि हो भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।
हामीकहाँ तीन पुस्तक आइपुगेको छ– १, नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’को ‘विश्वदृष्टिकोणमा रुपान्तरण’, २, अमर झाँक्री ‘सञ्जीव’को ‘नेपाली कम्युनिस्ट आन्दोलन र एकीकृत जनक्रान्ति’, र ३, नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी व्युरो अन्तर्गत स्कुलिङ विभागद्धारा प्रकाशित ‘एकीकृत जनक्रान्तिका आधारहरु’ ।
नेता सुदर्शनद्धारा प्रकाशित पुस्तक ‘विश्वदृष्टिकोणमा रुपान्तरण’ दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादसँग सम्बन्धित महत्वपूर्ण लेखहरु रहेका छन् । उहाँ मूलतः दर्शनशास्त्रका अध्येता तथा चिन्तक हुनुहुन्छ । उहाँ अहिले जेलमा हुनुहुन्छ । पुस्तकको भूमिका नेकपाका महासचिव विप्लव र नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणले लेख्नुभएको छ ।
पुस्तकमा समाविष्ट सामग्रीहरु–
१. सुदर्शन : विश्वदृष्टिकोणमा रुपान्तरण
अध्याय १
दार्शनिक घोषणापत्र
दर्शनशास्त्रको नयाँ चरणमा विकास : आजको आवश्यकता
द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवाद, विद्यार्थी र शिक्षा
उत्पीडित जनजाति र उन्नन दर्शनको सम्बन्ध
वर्गदृष्टिकोण, क्रान्तिको सपना र उडुसहरु
मार्क्सवादको विकासमा माओको अमर योगदान
अध्याय २
राजनीतिक अर्थशास्त्र र कार्यदिशाबीचको सम्बन्ध
अध्याय ३
सांस्कृतिक क्रान्ति : आजको महान कार्यभार
गौरवशाली जनयुद्धको इतिहासमाथि सिंहालोकन
क्रान्तिकारी कार्यदिशा विकासप्रक्रियामा ऐतिहासिक कदम
राज्यसत्ता र राजनीति
मार्क्सवाद र महिला मुक्ति
नेपाली क्रान्तिको कार्यदिशा
उत्पीडित वर्गको सैन्य रणनीति
पश्चगमनको यात्रा : काल्पनिक समाजवाद
२. अमर झाँक्री ‘सञ्जिव’ : नेपाली कम्युनिस्ट आन्दोलन र एकीकृत जनक्रान्ति
नेकपाका केन्द्रीय सदस्य अमर झाँक्री ‘सञ्जिव’द्धारा लिखित यो पुस्तक महत्वपूर्ण रहेको छ । उहाँले लामो समयदेखि नेपाली राजनीतिको वैचारिकतबाारे लेख्दै आउनु भएको छ । पुस्तकमा दार्शनिक, वैचारिक, सांस्कृतिक तथा सांगठनिक बिषयहरुबारे विचारोत्तेजक लेखहरु लेख्नुभएको छ । पुस्तकमा ६४ वटा लेखहरु समेटिएका छन् । यसमा तत्कालिन एमाओवादी भित्रको अन्तरसंघर्ष, नेकपा–माओवादीको निर्माण र अन्तरसंघर्ष, नेकपा निर्माण र एकीकृत जनक्रान्तिको शंश्लेषण आदि पुस्तकभित्र रहेका छन् । पुस्तकको भूमिका नेकपाका महासचिव विप्लव र नेकपा स्थायी समिति सदस्य शन्तोष बुढा मगरले लेखेका छन् ।
३. एकीकृत जनक्रान्तिका आधारहरु
नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी व्युरो अन्तर्गत रहेको स्कुलिङ विभागले ‘एकीकृत जनक्रान्तिका आधारहरु’ नामको हातेपुस्तिका प्रकाशन गरेको छ । पुस्तिकामा कार्यदिशा निर्माणको महत्व, अन्तर्राष्ट्रिय सन्दर्भ, नेपाली क्रान्तिमा नयाँ कार्यदिशा, नेपाली विशेषताहरु र यसअन्तर्गत एकीकृत जनक्रान्तिका ७ आधारहरुबारे संक्षिप्त चर्चा गरिएको छ । पुस्तिकाले नेकपाको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्तिबारे बुझ्न मद्दत पुर्याएको छ । पुस्तिकाले कार्यदिशालाई जनताका वीचमा पुर्याउन र वैज्ञानिक समाजवादी प्राप्तिको सङ्घर्षलाई अगाडी बढाउन थप सहयोग पुग्न सक्दछ ।
४ बैशाख, २०७८
सुमन
प्रतिक्रिया राख्नुहोस्