-यशु सापकोटा ‘फूलमती’
तल्लाघरे काका आउँछन
बेस्सरी कराउँदै
के छ हौ लाहुरे
फेरि आँखा घुमाउँदै
कसिङ्गर फाल्दै गरेकी ममा
अडाउँछन् नयन
अनि बफ–टी संगैका गफ
सानी ठूली भै केटो हेर्ने कि ?
महत्व पाएको छ
विवाहले खै किन ?
कानुनी नियम जस्तो
सिनेमा जगत–नाटक
प्रचार–पत्रपत्रिका
देखि बाट देखि सम्म हरेकमा
जीवन साथीको अपरिहार्यता !
वंश थाम्ने माध्यम विवाह
विवाहपछि सन्तानले पाउने
लोग्नेको नाम
पितृसत्तात्मक समाजमा
आज मेरो सौदा गर्दैछन् काका
तराजुमा जोखे जस्तो
एकतिर म अर्कोतिर दाइजो
विवाह भन्ने प्रश्नवाचक चिन्ह संगै
अमिलो मन
भाग्य खोज्दा खोज्दा
चाउरीएको निधार खुम्चाउँदै
थप्छन बाले
दाइजो कति माग्ने हुन ?
भावनामा डुब्छु म
बा–आमाले
आफ्ना मुल्य तोकेर
दाइजो संग ल्याएको पत्तो छैन
मर्द मानिने लोग्नेलाई
मर्दाङी देखाउन आउथ्यो होला
मेरै बाले दिएको ओछ्यानमा
मेरै आमाले ढाकछोप गरेको
शरीरको वस्त्र चिथोर्दै
मर्दाङी झार्न
सायद लोग्नेले जानेको मर्दाङी
त्यति नै हो
तर म मान्दिन !
अनि सासु कराउन थाल्थिन होला
होइन के संस्कारमा हुर्केकी होली
बा–आमाले के सिकाका हुन ?
म चुपचाप बस्थे होला र
भोको बाघ झै झम्तिन्थे
मेरो बा–आमाको संस्कारमा
औंला ठडाउने
सम्पतीको लागि छोरी बेचेकी
कुरूप आईमाई
मानवता नभएकी
महिलाले महिलालाई दबाउने
जब मेरो बा–आमाले
कन्यादान संगै
सम्पती जोखेर दान दिए
तब खुट्टा ढोगेर
संस्कार माग्नुपर्ने !
मेरो बा–आमाले त कौडी मागेन
भाउजु खुसी छन
बा–आमा खुसी छन
आक्रोस पोख्दै
बेस्सरी चिच्याउँदै फेरि भन्थे
तिम्रो छोरा खरिद गरेकी छु
मेरो अधिकार छ जे गरू
तर विवश हुन्थे बोल्दैनथे होला
किनकी आमाले सहनशीलता
सिकाएकी छन्
घर जग्गा पो धितो राखेका
संस्कार त होइन नी ?
त्यसैले म चुपचाप नै हुन्थे
काका र बाको बफ–टीको कप
टेबलमा ट्यार्याङ बज्यो
टोलाएकी रहेछु झस्किए
बा–काकाको अघि गए
खै के जङ चल्यो
भन्दिएछु मज्जाले
मेरो पहिचान बनाएर
बिना दाइजो
मेरो सन्तानलाई
मेरै नाम दिने
आँट भएको लोग्ने
सानीको लोग्ने हुनेछ ।
(लालदिशाबाट)
प्रतिक्रिया राख्नुहोस्