एमसीसी देशको हितमा छैन

एमसीसी र ओली सरकार विरुद्ध काठमाडौंमा गर्जियो २२ दल

एमसीसी देशको हितमा छैन

बुटवल । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरुद्धमा विभिन्न २२ राजनैतिक पार्टीहरुले राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा जम्मा भएर सोमवार दिउसो ती २२ राजनैतिक पार्टीहरुका नेता तथा कार्यकर्ताहरुले विभिन्न नाराहरु लगाउँदै प्रदर्शन गरेका हुन् भने प्रदर्शनलाई २२ पार्टी मध्यका विभिन्न घटकका नेताहरुले सम्बोधन गरेका थिए ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परि थापाले सो अमेरिकी परियोजना देशको हितमा नभएको धारणा व्यक्त गरे । विगतमा भारतसँग गरिएका असमान सन्धि र सम्झौताहरु खारेज नगरेरै २०७२ सालको संविधान जारी गरिएकोले देश अहिले पनि अर्धऔपनिवेशिक रहेको औंल्याउदै अझ अघि बढेर अहिले देश नवऔपनिवेशिकतामा पुगेको थापाले बताए ।

प्रधानमन्त्री केपी ओली देशको मियो बन्नुपर्नेमा सियो बनेको भन्दै त्यही सियोले देशका जनता लगायत सबैलाई उनले घोक्दै हिंडेको आरोप थापाले ओलीलाई लगाए । पूर्व अर्थमन्त्री तथा अमेरिकाको लागि नेपालका राजदुत डा. युवराज खतिवडा अमेरिकाको दलाल भएकोले संसदबाट परियोजना पास नहुँदै एमसीसी सम्बन्धी बजेट राष्ट्रिय बजेटमा समावेश गराएको समेत थापाले आरोप लगाए ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै जनसमाजवादी पार्टीका महासचिव डम्बरविक्रम कार्कीले एमसीसी देशको हितमा छैन भन्नेकुरा नेपाली जनतालाई थाहा भइसकेको बताउँदै अब जनताले संसदीय व्यवस्था पनि देश र जनताको हितमा छैन भन्ने कुरा बुझ्नुपर्ने बताए । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य हस्तबहादुर केसीले एमसीसी परियोजना कुनैपनि हालतमा खारेज हुनुपर्ने जिकिर गरे ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य अर्जुन कार्कीले एमसीसी लागु गरे देश सिक्किम हुनसक्ने खतरा औंल्याए । एमसीसी लागु गर्ने मानिस लेण्डुप दोर्जे हुने समेत उनले बताए । सर्वहारा कम्युनिष्ट पार्टी माओवादीकि महासचिव भावना विद्रोहीले एमसीसी परियोजना लागु गर्ने भन्नेहरु राष्ट्रघाती भएको बताइन् ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले विदेशीहरुको जति दलाली गरेपनि अन्तिममा राष्ट्रघातीहरू पतन भएर जाने निस्चित भएको बताए । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय जागरण मंचका केन्द्रिय संयोजक गुणराज लोहनीले यो सरकार र संसदीय व्यवस्था नै राष्ट्रघाती भएको आरोप लगाए ।