Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
फागुन १ : क्रान्तिकारीहरुको गौरवमय दिन - Janabato

फागुन १ : क्रान्तिकारीहरुको गौरवमय दिन

अधुरो क्रान्ति, क्रान्ति नहुनुभन्दा खतरनाक हुन्छ ।

फागुन १ : क्रान्तिकारीहरुको गौरवमय दिन

समाचार टिप्पणी । फागुन १ क्रान्तिकारीहरुका लागि ऐतिहासिक दिन हो । क्रान्ति, सङ्कल्प र वलिदानको प्रतीक हो । सामन्तवाद, साम्राज्यवाद, दलाल नोकरशाही पुुँजीवादका विरुद्ध नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्य सहित २०५२ फागुन १ गते नेकपा (माओवादी)ले महान जनयुद्धको घोषणा गर्यो । अहिलेसम्म आइपुग्दा माओवादी आन्दोलनको उमेर २६ वर्ष पुगेको छ । जनयुद्धका दश वर्ष विजय र उपलब्धिका वर्ष रहेपनि शान्ति प्रक्रियाका बाँकी वर्ष विघटन र पराजयका वर्ष बन्यो । पछिल्लो २०६९ असारमा तत्कालीन एकीकृत नेकपा माओवादीबाट विभाजित भएपछि नेकपा–माओवादी बन्यो । तत्कालीन नेकपा–माओवादीको अकर्मण्यतापछि २०७१ मंसिर ८ गते आइपुग्दा क्रान्तिकारी धारको नेतृत्व विप्लव नेतृत्वको नेकपाले गर्दै आएको छ । विहीबारसम्म आइपुग्दा विप्लव नेतृत्वको नेकपा सहित ४ कम्युनिस्ट पार्टीले रणनीतिक संयुक्त मोर्चाको घोषणा गरेका छन् । संयुक्त मोर्चामा विप्लव नेतृत्वको नेकपा, मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेका छन् । २६ औं जनयुद्धको पूर्वसन्ध्यामा संसदीय व्यवस्थाका विरुद्ध संयुक्त मोर्चाको निर्माण हुनु अत्यन्तै खुशीको कुरा हो ।  

महान जनयुद्ध सुरुको २६ औं बर्षसम्म आइपुग्दा माओवादी आन्दोलनको प्रचण्ड नेतृत्वको ठूलो हिस्सा आज संसदीय पुँजीवादमा विसर्जन हुन पुगेको छ भने विप्लव नेतृत्वको नेकपा ठूलो क्रान्तिकारी हिस्सा सहित दश वर्ष लामो महान जनयुद्धका लक्ष्यलाई भिन्न शिराबाट पुरा गर्ने उद्देश्य सहित अगाडी बढिरहेको छ । माओवादी आन्दोलनको २६ बर्षलाई कसरी मूल्याङ्न गर्ने ? माओवादी आन्दोलनको विचलन र विघटन कहाँबाट सुरु भयो ? माओवादी आन्दोलनको विभाजन र नयाँ ध्रुवीकरणलाई कसरी बुझ्ने ? अवको माओवादी आन्दोलन अर्थात् कम्युनिस्ट आन्दोलन कसरी अगाडी बढ्छ ? प्रश्नहरु वग्रेल्टी छन् र यतिखेर नेपाली जनताले यसको उत्तर खोजिरहेका छन् । 

जनयुद्धकालीन दश बर्ष
दश बर्षे महान जनयुद्धले नेपालको सामन्ती संरचनालाई जरैदेखि हल्याइदियो र राजतन्त्रको अन्त्य गरि संसदीय गणतन्त्रको घोषणा ग¥यो । हजारौंको संख्यामा जनमुक्ति सेना निर्माण गर्दै गाउँ–गाउँमा स्थानीय जनसत्ताबाट जिल्ला जनसरकार हुँदै केन्द्रीय जनसरकारको घोषणा ग¥यो । आफ्नै जनअदालत र जनकम्युनहरु निर्माण ग¥यो । गाउँदेखि शहरसम्म आउँदा करिब ७५ प्रतिशत भुभाग माओवादी नियन्त्रणमा रहेको भनी इन्टरनेशनल क्राइसिस गु्रप लगायत दर्जनौं अन्तर्राष्ट्रिय शक्तिहरुले तथ्याङ्क सार्वजनिक ग¥यो । यसो हुनु सामान्य कुरो थिएन । 

माओवादी आन्दोलनले विपन्न किसान, उत्पीडित महिला, दलित, जनजाति, मधेश र उपेक्षित क्षेत्रका समुदायमा ठूलो प्रभाव पा¥यो । माओवादीको आव्हानमा सामन्तका सयौं बिघा जमिन खोसेर हलिया र मुक्त–कमैयाहरुलाई बिनामुआब्जा बितरण गरिदिदा हजारौं किसान, हलिया र मुक्त–कमैयाहरु सामन्त÷जमिनदारका विरुद्ध आन्दोलनमा माओवादीसँगै हेलिए । उनीहरुले माओवादी आन्दोलनबाट आफ्नो भविष्य देखे । मध्ययुगीन छुवाछुत र भेदभाव विरुद्धको माओवादी क्रान्तिले उपेक्षित हजारौं दलित समुदायहरु जनयुद्धमा सरिक हुन पुगे । आधा आकाश ओगटेका महिलामाथिको विभेद विरुद्ध हजारौं उत्पीडित महिलाहरु माओवादी आन्दोलनमा सहभागी बने । त्यसैगरी जनजाति, मधेशी र कर्णाली क्षेत्रजस्ता उपेक्षित समुदाय र क्षेत्रहरुको पनि दश वर्षे जनयुद्धमा अत्याधिक ठूलो सहभागिता रहन पुग्यो । तिनै उत्पीडित र उपेक्षित वर्ग, जाती, क्षेत्र, लिंग र समुदायको मुक्ति र परिवर्तनको आवाज माओवादीले उठाएका कारण जनयुद्ध छोटो समयमा नै उत्कर्षमा पुग्यो । 

चुनबाङको ‘टर्निङ’ र गोलचक्कर 
देशैभर फैलिएको माओवादी आन्दोलन जब चुनबाङ बैठकमा आइपुग्यो, त्यसपछि नयाँ ‘टर्निङ’ लियो । चुनबाङ बैठक प्रतिक्रान्तिको नयाँ ‘टर्निङ पोइन्ट’ बन्यो । माओवादीका धेरै नेताहरु संसद भवनमा पुगे । अधिकांश नेताहरुले राजधानी लगायत सहरहरुमा घर बनाए । हुँदा–हुँदा सुकुम्बासीका बस्तीमा डोजर लगाउने स्थिति समेत बन्यो । इमान्दार कार्यकर्ताहरु क्रान्तिको भविष्यप्रति चिन्तित भएर कुनै विकल्प नपाएपछि अरबतिर लागे । माओवादी आन्दोलन विस्तारै ओरालो लाग्यो । संसद्वादीहरुसँगको सम्झौताका कारण जनसेना क्यान्टोनमेन्टमा खुम्चिन पुग्यो । जनसत्ता, जनअदालत र जनकम्युनहरु विघटन गरियो । जनसत्ताले कब्जा गरेका सामन्त जमिन्दारहरुको जग्गा उल्टै माफियाहरुसंग मिलेर केही नेताहरुले बेचेर खाए । त्यसपछि माओवादी आन्दोलनभित्र लामो समय अन्तरसंघर्ष, दुईलाईन संघर्ष चल्यो । दशवर्षे जनयुद्धका लक्ष्यहरु सम्पूर्ण रुपले गुम्ने स्थिति पैदा भएपछि माओवादीभित्रबाट क्रान्तिकारी नेता÷कार्यकर्ताहरुले पार्टीभित्रबाटै विद्रोहको झण्डा उठाए । ०६९ को बौद्धबाट माओवादी पार्टी घोषित रुपले विभाजित हुन पुग्यो । कमरेड किरणको नेतृत्वमा नेकपा–माओवादी बन्यो ।  

कमरेड किरण मालेमावादको व्याख्यामा क्रान्तिकारी रहने तर कार्यदिशा र कार्यक्रममा दक्षिणपन्थी देखिने, मालेमावादको दार्शनिक, सैद्धान्तिक र राजनीतिक पक्षमा सुन्दर व्याख्या हुने तर कार्यदिशा, कार्यक्रम र योजना कहिल्यै कार्यान्वयन नहुने समस्या देखा परेपछि किरण नेतृत्वको नेकपा–माओवादी पार्टीलाई अकर्मण्यताको गोलचक्करमा फसेको गम्भीर आरोप लाग्यो । त्यसपछि कमरेड विप्लवको नेतृत्वमा नयाँ माओवादी पार्टी निर्माण हुनपुग्यो ।    

कपिलवस्तु भेलापछिको नयाँ यात्रा
कमरेड विप्लवको नेतृत्वमा भएको कपिलवस्तु भेलाले माओवादी आन्दोलनमा नयाँ तरङ्ग ल्याइदियो । माओवादी आन्दोलनमा देखा परेको प्रचण्ड–बाबुरामको दक्षिणपन्थी नवसंशोधनवाद र किरण–बादलको छद्म संशोधनवाद विरुद्धको लडाइँमा यो भेला ऐतिहासिक भएको निष्कर्ष निकाल्यो । रोल्पाको थबाङमा आठौं महाधिवेशन सम्पन्न गरी मालेमावादलाई पथप्रदर्शक सिद्धान्त मान्दै नेपाल कम्युनिष्ट पार्टी निर्माण गर्यो । त्यसपछि एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा तय गर्दै राज्यले घोषणा गरेको तीनै तहको चुनावी खारेजी अभियानसम्म आईपुग्दा नेकपाले नेपालमा नयाँ शिराबाट क्रान्तिको बाटोमा अगाडी बढेको निष्कर्ष निकालेको छ । 

यहाँ स्मरणीय कुरा के छ भने आज गाउँ र शहरबीचको अन्तरसम्वन्ध, मुख्यतः सूचना प्रविधि र यातायातले गाउँमा ल्याएको परिवर्तन, पछिल्लो समयमा दलाल पुँजीवादले ल्याएको विकृतिका कारण ७० लाख युवाहरुको विदेश पलायन, गाउँमा युवाहरुको शून्य उपस्थिति लगायतका भुयथार्थका कारण अहिले हामीले दीर्घकालीन जनयुद्ध भनेर मात्र पुग्नेवाला छैन । नेपाली समाजमा आएको यति ठूलो परिवर्तनलाई हामी आँखा चिम्लेर अस्वीकार गर्न सकिदैन । नेपाली समाजका अन्तरविरोधहरुमा आएको कयौं परिवर्तनलाई पकडेर त्यही अनुरुपको संघर्षको मोडल विकास गर्न सकेनौं भने हामीले क्रान्ति सम्पन्न गर्न सक्दैनौं ।

विश्वक्रान्तिको अध्ययन गर्दा पनि पेरिस कम्युनको पुनरावृत्ति रसियन क्रान्तिमा भएन, रसियन क्रान्तिको पुनरावृत्ति चिनियाँ क्रान्तिमा भएन । न त रुसी र चिनियाँ क्रान्तिको पुनरावृत्ति नेपालमा माओवादी जनयुद्धमा हुबहु भयो । त्यसकारण अव नेपालमा हुने क्रान्ति पनि नेपाली समाजको अहिलेको अन्तरविरोध र विशेषतामा आधारित हुनुपर्छ र राजनीतिक कार्यदिशालाई त्यहीअनुसार अझ थप विकास र समृद्ध गर्दै जानुपर्दछ । 

एकता र संयुक्त मोर्चाको चर्चा
संसदीय धारमा एमाले र माओवादी केन्द्रवीच बनेको डबल नेकपाको विभाजनसम्म आइपुग्दा क्रान्तिकारीहरु बीच रणनीतिक संयुक्त मोर्चाको घोषणा भएको छ । चार पार्टी बीच भएको मोर्चाको घोषणासँगै पार्टी एकतासम्मको चर्चा भइरहेको छ । क्रान्तिकारीहरु बीच एकता हुनु खुशीको कुरा नै हो । तर सैद्धान्तिक–राजनीतिक कार्यदिशा नमिलाईकन एकता गर्नु अन्ततः गलत हुनेछ । कार्यदिशामा एकरुपता नभई गरिएको एकताले केही समय पिसावले न्यानो त देला तर त्यो दीर्घकालीन हुँदैन । यद्यपी अहिलेको विकसित परिस्थितिमा विश्व क्रान्ति र महान जनयुद्धले खाएको धक्का र उपलब्धिहरुको समीक्षा गर्दै क्रान्तिको यात्रामा अगाडी बढ्नुको विकल्प छैन । 

पुष ५ गते केपी वलीले चालेको कदमपछि संसद पुनस्र्थापना, निर्बाचन वा सरकार परिवर्तनले जनताको समस्या समाधान सम्भव छैन । पुँजीवादी संसदीय व्यवस्थाको असफलताले वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको आवश्यकतालाई निर्विकल्प रूपमा पुष्टि गरेको छ । अहिलेको सङ्कटको वास्तविक समाधान, शान्ति, स्थिरता, स्वाधीनता र समृद्धिका लागी वैज्ञानिक समाजवाद स्थापनार्थ सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील, देशभक्त शक्तिहरुलाई नयाँ आधारमा ऐतिहासिक संवाद, सहकार्य र मोर्चाबन्दीमा जुट्न अनिवार्य छ । 

पुष १४ गते चार कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालबीच रणनीतिक संयुक्त मोर्चा भएको घोषणा भएको छ । चार पार्टीले अहिले देश र जनताले भोगेका समस्याहरूको वास्तविक जनपक्षीय समाधान संसद पुनस्र्थापना, मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र केवल सरकार परिवर्तन मात्र गरेर हुन नसक्ने र संघीय जनगणतन्त्र÷वैज्ञानिक समाजवादको स्थापना हुनुपर्नेमा जोड दिएको छ । 

अन्त्यमा, हामी यतिखेर महान जनयुद्धको २६ औं बार्षिकोत्सव मनाइरहँदा जनयुद्धका प्रतिवद्धताहरुलाई स्मरण गर्नुपर्दछ र क्रान्तिका बाँकी कार्यभारहरुलाई पुरा गर्न दृढ संकल्पित हुनुपर्दछ । कमरेड लेनिनले १९०५ को अक्टोवर क्रान्ति असफल भएपछि भनेका थिए–‘अधुरो क्रान्ति, क्रान्ति नहुनुभन्दा भयानक खतरनाक हुन्छ ।’ आज हामी यही भयानक अवस्थामा गुज्रिएका छौं र क्रान्तिका ती अधुँरो सपनालाई पुरा गर्नुपर्दछ । सपनाहरु कहिल्यै मर्दैनन्, कमरेड लेनिनकै भाषामा क्रान्तिकारीहरुले हरदम सपना देखिरहनु पर्दछ । फागुन १ क्रान्तिकारीहरुको गौरवमय दिन हो ।
०००