‘जग्गा खण्डीकरणबारे’ माडी नगरपालिकाको सर्वदलीय बैठकबाट बाहिरियो नेकपा

‘जग्गा खण्डीकरणबारे’ माडी नगरपालिकाको सर्वदलीय बैठकबाट बाहिरियो नेकपा

माडी । नगरपालिकाको निर्णय विपरीत भूमाफियासँगको मिलोमतोमा खेती योग्य जमिन खण्डीकरणका लागि एकलौटी रुपमा अनुमती दिने विषयसँग सम्बन्धित विवादका विषयमा शुक्रबार भएको सर्वदलीय बैठकबाट नेपाल कम्युनिस्ट पार्टी बाहिरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माडी नगरपालिका इन्चार्ज ‘रमा’ले एक विज्ञप्ति जारी गर्दै जग्गा खण्डीकरणबारे छलफलमा सहभागी गराउने पक्षबारे विवाद भएसंगै आफूहरु कुनै निर्णयमा नपुगी बैठकबाट बाहिरिएको जनाएकी छिन् । 

वक्तव्यमा इन्चार्ज रमाले माडीका राजनैतिक दलहरुले नगरपालिकामा भएगरेका धेरै कमीकमजोरीहरुको उठान गरेको पनि उल्लेख गर्दै कुनै ठोस निर्णय गर्ने वातावरण नभएको जनाएकी छिन् ।

उठेका बिषयहरुमा ठोस निर्णय गर्नका लागि पुनः बैठक बस्नुपर्ने आवश्यकता महसुस गरी उठेका बिषयहरु मध्ये बढी चर्चामा रहेको जग्गा खण्डिकरणबारे सम्पूर्ण दल, सम्बन्धित कर्मचारी, मालपोत र नापी कार्यालय तथा २१ ग्रुपबीच बैठकको माग गरिएको वक्तव्यमा जनाइएको छ । सो मागको सम्बन्धमा माडी नगरपालिका पक्षले दल र २१ ग्रुपबीच मात्रै बैठक बस्न अडान लिएपनि आफूहरु शुक्रबारको बैठकबाट बाहिरिएको वक्तव्यमा उल्लेख छ ।