बुटवल । नेकपा निकट विभिन्न १२ वटा जनवर्गीय सङ्गठनले भारतीय रक्षामन्त्री राजनाथ सिंहको अभिव्यक्तिको विरोध गर्दै भारतीय राजदुत बिनयमोहन क्वात्रालाई ज्ञापनपत्र बुझाएका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहको भनाई आपत्तिजनक भएको भन्दै उनीहरूले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
नेकपाका विभिन्न १२ वटा जनवर्गीय सङ्गठनले नेपालस्थित भारतीय राजदुतलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘ तथाकथित ‘कैलाश मानसरोवर रोड’ भन्नेबारे राजनाथको भनाईको कडा निन्दा गर्दछौँ ।’ ज्ञापनपत्रमा तत्काल सडक निर्माण रोक्न चेतावनी दिँदै लिपुलेक नेपालको अभिन्न भाग भएको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘भारतले नेपालमा आफ्नो हस्तक्षेप रोक्नु पर्दछ र हाम्रो राष्ट्रिय सार्वभौमिकताको सम्मान गर्नुपर्दछ । हामी माग गर्दछौँ कि भारत सरकारले जानाजानी यस गल्तीलाई जतिसक्दो चाँडो सुधार गर्नुपर्दछ । हामी चुनौती दिन्छौँ, नेपाली क्षेत्रीय अखण्डता र सार्वभौमिकतामाथि भारतको एकपक्षीय आक्रमणको विरोध तीव्र हुनेछ र सरकारले आफ्नो विस्तारवादी र औपनिवेशिक नीतिहरू समाप्त नगरेसम्म रोक्नेछ । तसर्थ नेपाली क्षेत्रको कब्जा, सीमा क्षेत्रमा अतिक्रमण र नेपाली क्षेत्रको सडक निर्माण असहनीय छ ।’
प्रतिक्रिया राख्नुहोस्