नेकपा कपिलवस्तु र अर्घाखाँचीको संयुक्त स्कुलिङ सम्पन्न

कपिलवस्तु । नेकपा कपिलवस्तु र अर्घाखाँचीको संयुक्त आयोजनामा कपिलवस्तुमा सञ्चालित स्कुलिङ कार्यक्रम बिहिबार समापन भएको छ ।

समापन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुलिङ विभागका प्रमुख ध्रुवले २ वर्षको प्रतिबन्धपछि पार्टी स्कुल सञ्चालनले पार्टीमा थपिएको नयाँ जिम्मेवारीलाई पुरा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पार्टीले विकास गरेको नयाँ कार्यनीति अर्थात् संयुक्त प्रगतिशील सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवादबारे सैद्धान्तिक स्पष्ट पारेका थिए । उनले स्कुलिङ पश्चात् नेता कार्यकर्तामा नयाँ जिम्मेवारी थपिएको र प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा रुपान्तरण गर्नुपर्ने पहिलो आवश्यकता भएको बताए । 

नेकपाका वैकल्पिक केन्द्रीय सदस्य तथा कपिलवस्तु–अर्घाखाँची जिल्ला इन्चार्ज जुझारुले पार्टीले विकास गरेको नयाँ कार्यनीतिबारे, सङ्गठन निर्माण र नेता कार्यकर्ताको वैचारिक–राजनीतिक क्षमता विकासको लागि उक्त पार्टी स्कुल महत्वपूर्ण रहेको बताए ।

कपिलवस्तु जिल्ला सेक्रेटरी कमलले प्रतिबन्धपछि नयाँ परिस्थितिमा जनतामा पुग्नका लागि उक्त पार्टी स्कुलले महत्वपूर्ण योगदान पुर्याउने बताए । 

प्रशिक्षक सुमन र चिन्तनले नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्था हावी भईरहेको अवस्थामा र जनताले नयाँ व्यवस्थाको चाहना राखेको अवस्थामा पार्टी स्कुलले जनतामाझ यथार्थ ज्ञान सम्प्रेषण गर्न सहज पुर्याउने बताए ।

शनिबारदेखि सञ्चालन भएको स्कुलिङ कार्यक्रम बिहिबार सम्पन्न भएको नेकपा कपिलवस्तु जिल्ला सेक्रेटरी कमलले जानकारी दिए ।