झापा । नेपाल कम्युनिस्ट पार्टी झापाका तत्कालीन जिल्ला सदस्य एंव युवा सङ्गठन नेपाल झापाका तत्कालीन जिल्ला सचिव अनुल सारू मगर २३ महिनाको जेल जीवन पश्चात् बिहिबार रिहा भएका छन् ।
रिहा पश्चात् मगरलाई जिल्ला नेताहरूले अदालत परिसरमै खादा र अबिर लगाएर भव्य स्वागत गरेका थिए । मगरलाई जिल्ला सचिव प्रशान्त, जिल्ला कार्यालय सचिव संजय राई, जिल्ला सदस्य जितु, सुमन लगायतका जिल्ला नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
पार्टी प्रतिबन्धको समयमा २०७६ भाद्र ३० गते झापाको विर्तामोडबाट प्रहरीले पार्टीका तत्कालीन जिल्ला सचिव प्रविण मिश्र, जिल्ला सदस्य टीका पोख्रेलसहित अनुललाई प्रदेश १ को कार्यालयबाट खटेको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलिले पक्राउ गरेको थियोे ।
पक्राउ परेका नेता कार्यकर्तालाई बम विष्फोट, साङ्गठनिक अपराध, हातहतियार लगायतका मुद्दा लगाइएको थियोे । टीका पोख्रेल र प्रविण मिश्र यसअघि नै धरौती बुझाएर रिहा भैसकेका थिए भने मगर बिहिबार जिल्ला अदालत झापामा ५० हजार धरौटी बुझाए पश्चात् रिहा भएका हुन् । मगरलाई सम्मानित जिल्ला अदालत झापाले विष्फोटक पदार्थ सम्बन्धि मुद्दामा २०७६ ÷११÷२८ को आदेशले ५० हजार धरौटी माग गरेको थियोे । उक्त धरौटी रकम नतिरेपछि उनी कारागार चलान भएका थिए ।
यो सँगै झापा कारागारमा अब नेपाल कम्युनिस्ट पार्टीका कुनै पनि कार्यकर्ता नरहेको प्रशासनले जनाएको छ । सरकार र नेकपाबीच गत फागुन २१ गते ३ बुँदे सम्झौता पश्चात् प्रतिबन्ध हटेपनि नेता कार्यकर्ता रिहाईमा भने सरकारले आलटाल गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्