कञ्चनपुरमा आधा दर्जन बढी नेताकार्यकर्ता नेकपामा प्रवेश  

गणेश एसके । कञ्चनपुर । कञ्चनपुरमा विभिन्न राजनीतिक दल परित्याग गरि विप्लव नेतृत्वको नेकपामा आधा दर्जन भन्दा बढी नेता–कार्यकर्ता ध्रुवीकृत भएका छन् । 

उक्त ध्रुवीकरण अभियान लालझाडी गाउँ कमिटीको आयोजनामा बिहीवार कञ्चनपुरको लालझाडी गाउँपालिकामामा सम्पन्न भएको थियो । पछिल्लो पार्टी बैठकको नारा ‘क्रान्तिकारी एकता र ध्रुवीकरणमा जोड दिऔँ । समुधुर जनसम्बन्ध सहित सुदृढ पार्टी निर्माण गरौं’  भन्ने निर्णय अनुसार नेकपा कञ्चनपुर सुदृढ पार्टी निर्माणमा तिब्र रुपमा खटिएको बताइएको छ । साथै बिहिबार उक्त गाउँ कमिटीको पाँचौं पूर्ण बैठक पनि सम्पन्न भएको जनाइएको छ ।

ध्रुवीकरण कार्यक्रममा नेकपा कञ्चनपुर जिल्ला सचिव रमेश नेपाली ‘जीवन’ ले अहिलेको परिस्थितिमा आफूहरू सुदृढ र जनतामुखी पार्टी बनाउँदै जनतासँगै सहकार्य गरेर जनताको प्रतिनिधित्व गर्ने व्यवस्थाको निर्माण गर्ने बाटोमा लागिरहेको बताए । उनले यो पुँजीवादी व्यवस्थाले देशमा कसैका पनि न्यूनतम समस्यालाई हल नगरेको बताए । उनले उल्टो झन् आजको दिनमा जातीय भेदभाव, वर्गीय असमानता, सामाजिक असुरक्षा, महँगी ,घुसखोरी, भ्रष्टाचार चरम रूपमा मौलाएको बताए । 

उनले भने, ‘यी सबै पराजयको पराकाष्ट भनेको यो असफल संसदीय व्यवस्था हो ।’ नेपालीले एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध भई एउटा सच्चा नागरिकको भूमिका निर्वाह गर्दै वर्गविहिन, जातीविहिन, धर्मविहिन, शोषण् विहिन र आम जनताको नेतृत्व गर्ने सुन्दर व्यवस्था वैज्ञानिक समाजवादको यात्रामा सहकार्य गर्नु अहिलेको आवश्यकता रहेको बताए । उनले आफ्नो पार्टीले तीन बुँदे सहमति कार्यान्वयन गर्दै जनमत संग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न र जनतालाई व्यवस्था चुन्ने अधिकार दिने माहोल बनाउन सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेकपा संयुक्त एमाले, माओवादी केन्द्र लगायत अन्य पार्टीबाट आधा दर्जन भन्दा बढी नेताहरुले पार्टी प्रवेश गरेको बताइएको छ । राजेन्द्र बस्नेत, झिंगा राना, पवन कुँवर, गोविन्द सिंह ठगुन्ना, संदेश भट्ट, सिलास राना, विशाल राना, राजेश राना, सिर्जित राना लगायत नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् । लालझाडी नगर समिति सचिव गोपाल महराले कार्यक्रमको अध्यक्षता गरेका थिए ।