महान जनयुद्धको २६ औं बर्ष प्रवेशको अवसरमा सबै मालेमावादीहरू फेरि एकढिक्का भएर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न प्रतिबद्ध हुनु अहिलेको आवश्यकता हो । यहाँहरु सवैलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
महान जनयुद्ध थालनी भएको आज २६ वर्ष पूरा भएको छ । २६ बर्षपछिको यो समयविन्दुमा उभिएर इतिहासको अध्ययन गर्दा नेपाली समाज फेरि पनि अर्को क्रान्ति थालनीकै पूर्वसन्ध्यामा उभिईरहेको सर्वत्र आभाष हुँदैछ । साम्राज्यवाद–विस्तारवादको आडभरोसामा टिकेको नेपालको सामन्ती राज्यव्यवस्थालाई समूल अन्त्य गरी नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने स्पष्ट राजनीतिक लक्ष्य सहित नेपाली जनयुद्ध सुरु भएको थियो । यद्यपी, जनयुद्धले दस वर्ष पार नगर्दै मुख्य नेतृत्व पङ्क्तिमा आएको भयानक राजनीतिक गद्दारी र विचलनका कारण शान्ति प्रक्रियाका नाममा भताभुङ्ग पारियो । र, आज महान जनयुद्ध थालनीको २६ औं वर्षगाँठ मनाउँदै गर्दा नेपालका कम्युनिस्ट क्रान्तिकारीहरू फेरि अर्को क्रान्तिप्रतिको दृढ सङ्कल्प सहित अगाडी बढिरहेको छ ।
आजभन्दा २६ बर्ष अगाडीको नेपाली समाजमा केही फेरबदल आएको छ । सामन्तवादको प्रतीक राजतन्त्रको अन्त्य त भएको छ तर त्यसको ठाउँमा दलाल पुँजीवाद नेपाली क्रान्तिको दुश्मन भएर अगाडी आएको छ । अर्थात् दलाल पुँजीवाद र नेपाली श्रमजीवी जनताको वीचको अन्तरविरोध तीव्र छ । त्यतिवेलाको विद्यमान राजनीतिक तथा सामाजिक अन्तरविरोध, राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश र क्रान्तिकारीहरुको आत्मगत परिस्थिति अनुसार महान जनयुद्धको सुरुवात सही र वैज्ञानिक थियो भन्ने कुरा व्यवहारिक रुपमा प्रमाणित भइसकेको छ । यद्यपी, राज्यसत्ताका आधारभुत चरित्रमा अहिले पनि फेरबदल भएको छैन । राजतन्त्रको अन्त्य जनयुद्धको उपलब्धि भएपनि घोषित संसदीय गणतन्त्रले जनताको रगत पसिना लुटिरहेको छ ।
आज माओवादी आन्दोलनको ठूलो हिस्सा संसदीय पुँजीवादमा विसर्जन हुन पुगेको छ भने क्रान्तिकारी हिस्सा अझै पनि क्रान्तिको निरन्तर लङमार्चमा छ । विश्व साम्राज्यवादको दवदवा भइरहेको आजको दुनियाँमा सर्वहारा श्रमीक वर्गको राज्यसत्ता स्थापनाका लागि क्रान्तिको यो नयाँ लङमार्च नहिँडी सुखै छैन । महान जनयुद्ध त्यही यात्रा थियो र अहिले क्रान्तिकारीहरुले भिन्न ढंगले त्यही यात्रामा अगाडी बढिरहेका छन् । जनयुद्धका दश वर्ष विजय र उपलब्धिका वर्ष रहेपनि शान्ति प्रक्रियाका बाँकी वर्ष विघटन र पराजयका वर्ष बन्न पुग्यो । नेपाली जनता र क्रान्तिकारीहरूले रचेको बहादुरीको गौरवशाली इतिहास जनताको ढुकढुकीमा अजेय भएर बाँचिरहनेछ । अहिले चार क्रान्तिकारी पार्टीहरुले घोषणा गरेको रणनीतिक संयुक्त मोर्चाले फेरि श्रमिक जनतामा नयाँ उत्साह ल्याएको छ । यो मोर्चालाई अझ सुदृढ र विस्तार गर्न जरुरी छ ।
माओवादी आन्दोलनको सिङ्गो नेतृत्वमा देखिएको क्रान्तिप्रतिको वैचारिक विचलन, गद्दारी र आत्मसमर्पणपछि संसदीय पुँजीवादमा विसर्जन हुँदा समेत सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूको ठूलो पङ्क्ति दृढतापूर्वक क्रान्तिपथमा अगाडि बढ्नु जनयुद्धको महत्वपूर्ण उपलब्धि हो । प्रतिक्रान्तिको भग्नावेशबाट माओवादी आन्दोलन फेरि पुनर्गठित भई क्रान्तिकारी अभियानमा दृढतापूर्वक अगाडि बढ्नु खुशीको कुरा हो । हाल छिन्न–भिन्नजस्तो देखिन पुगेको माओवादी आन्दोलन देशको विकसित घटनाक्रमसँगै मालेमावादको पथप्रदर्शकमा सच्चा क्रान्तिकारी कम्युनिष्टहरु वीच एकता र धु्रवीकरण अनिवार्य भएको छ ।
महान जनयुद्धको २६ औं बर्ष प्रवेशको अवसरमा सबै मालेमावादीहरू फेरि एकढिक्का भएर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न प्रतिबद्ध हुनु अहिलेको आवश्यकता हो । यहाँहरु सवैलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
–जनबाटो परिवार
प्रतिक्रिया राख्नुहोस्