Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
ओम प्रकाश पुन : जनयुद्ध तिमी - Janabato

ओम प्रकाश पुन : जनयुद्ध तिमी

२६औ महान जनयुद्ध दिवसको सम्झनामा लेखिएको कविता हो ।

ओम प्रकाश पुन : जनयुद्ध तिमी

जनयुद्ध, तिमी विगत भइसकेका छैनौ
जनमुक्ति सेना, तिमी पूर्व भइसकेका छैनौ
हो, तिमीलाई विगत बनाउन खोजिएको छ
हो, तिमीलाई पूर्व बनाउन खोजिएको छ
हो तिमीलई रुवाउँदै घर पठाइएको छ
तर तिमी इतिहास भइसकेका छैनौ
तिमीले आत्मसमर्पण गरेका होइनौ
इतिहासको कुपात्र त तिम्रो नेता भएको हो
आत्मसमर्पण त तिम्रो कमाण्डरले गरेको हो
जस्ले जबर्जस्त जनयुद्धको विसर्जन गर्यो
जस्ले जबर्जस्त जनसेनाको विघटन गर्यो
वर्ग संघर्षको मैदानमा
न जनयुद्धले हारेको हो
न जनमुक्ति सेना थाकेको हो
न जनयुद्ध समाप्त भएको हो
न जनमुक्ति सेना विघटित भएको हो
यो त क्षेणीक धोका मात्रै हो
यो त थोरै विश्राम मात्रै हो
हो जनयुद्ध तिमी विसर्जित भएका छैनौ
हो लाल सेना तिमी विघटित भएका छैनौ
तिमीले लडेका घाउहरू जीवित छन्
तिमीले खनेका बंकरहरु जीवित छन्
तिम्रा अङ्गभङ्ग भएका निशानी जीवित छन्
शालिकमा शहीदहरू जीवित छन्
बेपत्ता योद्धाका आशाहरु जीवित छन्
शरीरमा छर्रा र गोली बोकेका
घाईते योद्धाहरू जीवित छन्
रक्तबिजहरु जीवित छन्
शहीद परिवारहरू जीवित छन्
तिम्रा आँशुहरु जीवित छन्
तिम्रा हाँसोहरु जीवित छन्
तिम्रा आशाहरु जीवित छन्
तिम्रा विचारहरू जीवित छन्
तिमी जस्का विरुद्ध लड्यौ
ती दुस्मनहरू जीवित छन्
दलाल पुँजीवाद जीवित छ
दलाल पुँजीवादीहरु जीवित छन्
कालो रात उस्तै छ
अन्याएको राज उस्तै छ
जनताको हाल उस्तै छ
शासकको चाल उस्तै छ
शोषणको जाल उस्तै छ
हो त्यसैले त
महान जनयुद्ध तिमी पनि जीवित छौ
महान जनसेना तिमी पनि जीवित छौ
बरु तिमी
नयाँ विचारले संशलेषित भएका छौ
नयाँ नेतृत्वले निर्देशित भएका छौ
नयाँ ढङ्गले पुनर्गठित भएका छौ
नयाँ कमाण्डरको फर्मेशनमा छौ
किनकी
तिम्रो लक्ष्य पूरा भएको छैन
तिम्रो सपना साकार भएको छैन
देशले मुक्ति पाएको छैन
जनताको क्रान्ति पूरा भएको छैन
तिम्रो लडाइँ सकिएको छैन
राष्ट्रले स्वाधीनता पाएको छैन
त्यसकारण
जनयुद्ध तिमी विगत भएका छैनौ
जनमुक्ति सेना तिमी पूर्व भएका छैनौ
तिमी ढलेका छैनौ
तिमी गलेका पनी छैनौ
तिमी फेरि उठेका छौ
तिमी फेरि जुटेका छौं
हो तिमी वर्तमान हौ
हो तिमी बहाल छौ
तिमीले जनगणतन्त्र प्राप्त नगर्दा सम्म
तिमी बैज्ञानक समाजवादमा नपुग्दा सम्म
दोश्रो, तेश्रो चरण बन्न सकौला
नयाँ विचार प्रविधिले सुसज्जित हौला
तर
तिमी विगत हुने छैनौ
तिमी पूर्व हुने छैनौ
तिमी जारी रहने छौ
तिमी जीवित रहने छौ
तिमी वर्तमान हौ
तिमी जीवित छौ ।।।

राजबन्दी, हाल कैलाली कारागार
यो २६औ महान जनयुद्ध दिवसको सम्झनामा लेखिएको कविता हो ।