बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री ओलीसँगको भेटमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेकपाका तर्फबाट महासचिव विप्लवसहित पार्टी प्रवक्ता एवं वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागि रहेको नेकपाको उच्च स्रोतले बताएको छ ।
भेटवार्तामा तीन बुँदे सहमति कार्यान्वयनको प्रगति, बन्दी रिहाई र मुद्दा खारेजीको विषयमा छलफल भएको र छलफलमा सरकारले यथाशिघ्र छिटो बन्दी रिहाई र मुद्दा खारेजी हुने आश्वासन दिएको बताइएको छ ।
भेटवार्तामा देशको समग्र अर्थतन्त्रको बारेमा समेत छलफल भएको र छलफलमा कृषि उत्पादनलाई प्राथमिकतामा राख्ने, उत्पादन वृद्धि गर्ने तथा युवाहरुलाई रोजगारी दिने र युवाशक्तिको परिचालनको बिषयमा समेत छलफल भएको नेकपा स्रोतले बताएको छ ।
भेटवार्तामा देशका कतिपय स्थानहरुमा अझै पनि खानेपानी, बाटो–बत्ती , शिक्षा – स्वास्थ्य जस्ता आधारभूत कुराहरुको अभाव भएकाले त्यसको समाधान गर्न सरकारले आगामी नीति तथा कार्यक्रममा त्यस्ता बिषयहरुलाई समेटी आगामी बजेटमा समावेश गर्ने बताइएको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रम डरलाग्दो ढंगले अघि बढेको र यसलाई सहिमार्गमा ल्याउन आग्रगामी र दिर्घकालीन समाधान खोज्ने बिषयमा समेत सहमति भएको बताइएको छ ।
शनिबार मात्रै प्रधानमन्त्री ओली र वार्ता टोलीका संयोजक तथा नेकपा पार्टी प्रवक्ता प्रकाण्डबीच छलफल भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्