बुटवल । रुपन्देहीको तिलोत्तमा-१ नयाँमिलमा अवस्थित प्यारामान्ट बोर्डिङ हाई स्कूलमा अध्ययनरत एक छात्राको स्वास्थ्यमा अचानक समस्या आएपछि मृत्यु भएको छ । कक्षा १० मा अध्यनरत प्रतिभा सापकोटाको मृत्यु भएको विद्यालयका सह-प्राचार्य लिलाधर किरातले जानकारी दिए ।
‘विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले होस्टेलमा बस्दै आएकी प्रतिभाले छाती दुःख्ने समस्या भएपछि उनको दाजुलाई लिन बोलाएर आज विहानै घर गएकी थिइन् । ’किरातले भने ‘एक्कासी स्वास्थ्य समस्या आएपछि उपचारका लागि मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जानकारी प्राप्त भयो ।’ विद्यालयले वैशाख १५ गते सक्ने गरी परीक्षा सञ्चालन गरीरहेको थियो । विद्यालयमा हाल ५० जना बढी होस्टेलमा बस्दै आएको उनले बताए ।
क्रिमशन अस्पतालले उपचारका लागि ती छात्रालाई ल्याइपुर्याउँदा मृत्यु भइसकेको जनाएको छ । मृत्यु हुनुको कारण बारे नखुलेको बताउँदै अस्पताल प्रशासनले छात्रालाई उपचारका लागि ल्याइपुुर्याउनु अघि नै मृत्यु भएको जनाएको हो । छात्राको मृत्यु बारे परिवारले भने केही कुरा बोल्न चाहेका छैनन् । इलाका प्रहरी कार्यालय मँगलापुरका अनुसार मृतक छात्राका आमा-बुवा जापान बस्दै आएका छन् भने उनी आफ्नो ठूलो बुवा-आमासँगै तिलोत्तमा-५ मणिग्राममा बस्दै आएकी थिइन् ।
प्रतिक्रिया राख्नुहोस्