पूर्वाग्रही ढंगले सदस्यता वितरणप्रति प्रेस चौतारी नेपाल रूपन्देहीको आपत्ति

पूर्वाग्रही ढंगले सदस्यता वितरणप्रति प्रेस चौतारी नेपाल रूपन्देहीको आपत्ति

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीमा केही नयाँ सदस्य थप हुने गरी सार्वजनिक भएको नामावलीप्रति प्रेस चौतारी नेपाल, रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

पत्रकार महासंघ रुपन्देहीको यसअघिको कार्यसमितिले (२०७७ फागुन ९ गते) सदस्यताका लागि आएका आवेदनहरुलाई प्रक्रियागत ढंगले केन्द्रीय समितिमा सिफारिस गरेका २९ जना पत्रकारहरुलाई सदस्यता प्रदान नगरी महासंघको केन्द्रीय समितिले पूर्वाग्रही ढंगले एसोसिएट शाखाका नामबाट केही व्यक्तिलाई मात्रै सदस्यता प्रदान गर्नु महासंघको विधानविपरीत भएको प्रेस चौतारीको भनाई छ । 

प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरीले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पत्रकार महासंघमा यसप्रकारका राजनीतिक दाउपेच र पूर्वाग्रहका गतिविधि सुरु हुनु, स्वार्थ बाझिनु, सदस्यतामै विभेद र भेदभाव गरिनु, विधानको समेत उल्लंघन हुनु दुःखद र गम्भिर विषय हो । ’
यसलाई तुरुन्त सच्याएर जिल्ला शाखाबाट प्रक्रिया पूरा गरी सिफारिस भएका सबैलाई तत्कालै सदस्यता प्रदान गर्न महासंघ केन्द्रीय समितिलाई प्रेस चौतारी रुपन्देहीले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ । 

‘त्यस्तै स्थानान्तरण भनी आएका सदस्यतालाई अभिलेखमा नराख्न महासंघ रुपन्देहीलाई यसै विज्ञप्तीमार्फत सचेत बनाउँदछौं । यदि यसलाई वेवास्ता गरिएमा प्रेस चौतारी नेपाल रुपन्देही आन्दोलनमा उत्रिन बाध्य हुनेछ, विज्ञप्तीमा भनिएको छ ।