अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची जिल्ला सेक्रेटरी माहुरीको नेतृत्वमा जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ३ राइखन्नेमा पार्टीका नेता–कार्यकर्ता तथा युवाहरु सामाजिक कार्यमा सक्रिय भएका छन् ।
नगरपालिकाले विकास निर्माणका काम गरेता पनि जनताको भावनाअनुसार काम नगरेको भन्दै १०० देखि ५००० हजार रुपैयाँसम्म उठाएर करिब १५० मिटर बाटो ग्राभेल गरेका छन् । नेकपाको नेतृत्वमा करिब ७० जना युवाहरु सामाजिक कार्यमा सक्रिय रहेको नेकपा अर्घाखाँचीले जनाएको छ ।
स्थानीय ७२ वर्षीय वृद्ध लालबहादुर पुनले युवा भाइहरुले राम्रो काम गरेको भन्दै सबै उत्साहकासाथ सामाजिक काममा सक्रिय हुनुपर्ने उनले बताए ।
‘समाजमा केहि गर्न सकिने रहेछ । लकडाउनको बेला धेरै युवाहरु बेरोजगार छन्, गाँउमै बसेका युवाहरु मिलेर हामी केही गर्न सक्छौ’ भन्ने हेतुले काम गरेको राष्ट्रिय युवा संघका जिल्ला सदस्य बाबुराम सारुले बताए ।
युवा सदस्य मेघराज घर्तीले हाम्रो एक छिनको सहयोगले कोही ओतमुनि बस्न पाँउछ, सजिलो सँग हिड्न पाउँछ भने किन सहयोग नगर्ने भनेर पनि आफूहरुले अभियानको थालनी गरेको बताए ।
काममा व्यस्त रहेका नारायण सारुले युवाहरु एक भएर काम गर्ने हो भने सानोतिनो सामाजिक काम गर्न सकिने रहेछ भनेर अभियानको थालनी गरेको बताए ।
मिलन चोकदेखि राइखन्नेसम्मको बाटो नगरपालिकाले करिब २५ लाख विनियोजन गरेको थियो तर युवाहरुलाई चित्तबुझ्दो नभएपछि युवाहरु आफै सक्रिय भएका हुन् ।
प्रतिक्रिया राख्नुहोस्