बुटवल । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय सङ्गठन युवा सङ्गठन नेपाल, रूपन्देहीले मङ्गलबार कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूको सम्झना स्वरूप द्वीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विदुरले कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कोरोना महामारीले लाखौँ मानविय क्षति र करोडौँ जनता प्रभावित भइरहेको बताए । उनले राज्य र राज्यका केही स्थानीय निकायहरू कोरोना महामारीले देशव्यापी रुपमा आक्रान्त पारिरहेको यस्तो विषम परिस्थितिमा कोरोना भाइरसलाई परास्त गर्न उचित पहल गरी निकास दिनुको सट्टा अवैध ढङ्गबाट नेपालका चुरे क्षेत्रहरूबाट ढुङ्गा, गिट्टी, बालुवाजस्ता प्राकृतिक स्रोत, साधन उत्खनन र दोहन गर्ने कार्यमा सक्रिय रहेको बताए । उनले देशमा दलाल पुँजीवादी संसदीय व्यवस्था रहेसम्म किसान, मजदुर, युवा, विद्यार्थी अर्थात् सम्पूर्ण श्रमजीवी वर्गको अवस्था झन् कमजोर बन्दै गइरहने बताए । ‘वर्तमान दलाल संसदीय व्यवस्था वा वैज्ञानिक समाजवादी व्यवस्थाबारे फैसला गर्ने अधिकार जनतालाई दिनुपर्छ । त्यसका लागि हाम्रो पार्टीले अगाडि सारेको जनमत सङ्ग्रहमा जाऔँ’, उनले भने ।
युवा सङ्गठन नेपाल रूपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदीले कोरोना महामारीले मानव नै सङ्कटमा परिरहेको गम्भीर अवस्थामा सबै मिलेर आआफ्नो तहबाट जनसेवामा जुट्नुपर्ने बताए । उनले राज्यका लापरबाहीका कारण कोरोना भाइरसबाट लाखौँ नागरिकले ज्यान गुमाउनु परेकोमा दुख व्यक्त गरे ।
कार्यक्रममा नेकपा रूपन्देही र पार्टी निकट विभिन्न जनवर्गीय सङ्गठनका थुप्रै नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता र सञ्चालन युवा सङ्गठन नेपाल रूपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदीले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्