स्वास्थ्य सामाग्रीसहित सञ्चार गृहमा बुटवल उद्योग बाणिज्य संघ : समस्यामा छलफल

स्वास्थ्य सामाग्रीसहित सञ्चार गृहमा बुटवल उद्योग बाणिज्य संघ : समस्यामा छलफल

बुटवल । आर्थिक तथा सामाजिक विकासमा योगदान दिँदै आएको बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना महामारीका कारण भएको निषेधाज्ञाकाबीच बुटवलका सञ्चार गृहमा पुगेर परामर्श गरेको छ । कोरोना महामारीले आर्थिक क्षेत्रलाई तहसनहस गराएको बेला निजी क्षेत्रबाट सञ्चालित सञ्चार गृहका के कस्ता समस्या छन् र ती समस्या समाधानको लागि के गर्न सकिन्छ भन्ने विषयमा परामर्श गरेको हो । 

नागरिकलाई सूचनाको हक प्रदान गर्नको लागि अरोरात्र खटिने पत्रकारको अवस्था, महामारीले सञ्चारगृहलाई पारेको प्रभाव तथा संघको तर्फबाट के कस्ता पहल र पैरवी गर्न सकिन्छ भन्ने विषयमा परामर्श लिईएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराए । 

संघको तर्फबाट अध्यक्ष उज्ज्वलप्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, बाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, महासचिव बिमलराज भट्टराई लगायतको टोलीले बुटवलमा प्रधान कार्यालय रहेका पत्रपत्रिका, रेडियो तथा टेलिभिजनमा पुगेर त्यहाका समस्याका बारेमा जानकारी लिएको हो । संघले ती सञ्चारगृहमा मास्क, सेनिटाईजर, साबुन लगायत स्वास्थ्य सुरक्षा सामाग्रि समेत प्रदान गरेका थिए । 

संघका अध्यक्ष कसजूले नागरिकलाई सुसूचित गर्ने सञ्चार माध्यमको अस्वस्था र त्यहाँ काम गर्ने पत्रकार तथा कर्मचारीहरुको समस्याका बारेमा जानकारी लिईएको बताउँदै उजागर भएका समस्या नेपाल उद्योग बाणिज्य महासंघ मार्फत सरकारसंग पहल र पैरवी गरिने बताए । उनले संकटमा पनि सञ्चार माध्यमहरुले निरन्तर सूचना प्रवाह गरेको बताउँदै संघले त्यहाँका समस्याका बिषयमा परामर्श गर्ने र कार्यरत सञ्चारकर्मीहरुलाई थोरै भएपनि राहत हुनेगरी स्वास्थ्य सामाग्री वितरण गरिएको बताए । 
त्यस अवसरमा उनले कोरोना संक्रमणका कारण दिवंगत भएका पत्रकारप्रति श्रद्धाञ्जली अर्पण गर्दै संक्रमित पत्रकारहरुको सिघ्र स्वास्थ्य लाभको समेत कामना गरे । 

स्थानीय सञ्चार उद्योगलाई विकास र प्रवद्र्धन गर्न संघले के गर्न सक्छ ?, संघको भूमिकाको बारेमा समेत परामर्श लिइएको थियो । संघको टोलीलाई स्वागत गर्दै सञ्चार गृहका प्रमुखहरुले सञ्चार माध्यमा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए । साथै उनीहरुले यो किसिमको सद्भावको लागि संघप्रति आभार समेत व्यक्त गरेका थिए । यस्तो किसिमको सद्भाव आफूले ईतिहासमै पहिलो पटक प्राप्त गरेको बताउँदै दैनिक पत्रका प्रधान सम्पादक बालकृष्ण चापागाईले सञ्चार माध्यममा भएको समस्याहरुको बारेमा जानकारी गराएका थिए । 

बुटवलका सञ्चार उद्योगहरु दैनिकपत्र दैनिक, जनसंघर्ष, मेचिकालि दैनिक, तिलोत्तमा दैनिक, बुटवल एफएम, लुम्बिनी दैनिक, रेडियो जागरण, मुक्ति एफएम, खस्यौली एफएम, तिनाउ एफएम, समावेशी एफएम, बुद्ध सामुदायिक टेलिभिजन, राज्य टेलिभिजन र लुम्बिनी टेलिभिजनमा पुगेर स्वास्थ्य सामाग्रि वितरण गर्नुको साथै ती सञ्चार उद्योगका समस्याका बारेमा परामर्श गरेको हो । 

संघको टोलीलाई स्वागत गर्दै राज्य टेलिभिजनका अध्यक्ष गोबिन्द खनालले संघले गरेको कार्य स्रहानीय रहेको बताउँदै सञ्चार माध्यम र उद्योग व्यवसाय एक अर्काका परिपुरक भएको बताए । उहाँले बिज्ञापन प्रदान गर्दा विशेष गरेर स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिन संघ मार्फत उद्योगी व्यवसायीलाई आग्रह गरे । 

त्यस्तै बुद्ध टेलिभिजनका सचिव तिर्थराज पंगेनीले संकटका बेला संघको यो सद्भावले सञ्चार गृह र पत्रकार कर्मचारीमा हौसला बढाउने काम गरेको बताए । त्यस्तै लुम्बिनी दैनिकका सम्पादक यानेन्द्र जिसीले सञ्चार माध्यम र संघ बिचको सम्बन्धलाई अझै कसिलो बनाउने विश्वास व्यक्त गरे । संघको टोलीलाई मेचिकाली दैनिकका व्यवस्थापक विष्णु गैरे, बुटवल एफएम तथा तिलोत्तमा दैनिकमा लेखा प्रमुख रबिनमान शाक्य, प्राविधिक प्रमुख शिव काफ्ले, रेडियो जागरणमा स्टेशन म्यानेजर बिनोद परियार, खस्यौली एफएममा स्टेशन म्यानेजर सुमन श्रेष्ठ, रेडियो मुक्तिमा स्टेशन म्यानेजर कल्पना तिवारी, बुद्ध टिभिमा प्रबन्धक बिक्रम खड्का, लुम्बिनी टिभिमा महासचिव दिनेश पाण्डे, राज्य टिभिमा प्रवन्धक बिष्णु भुसाल, तिनाउ एफएममा स्टेशन म्यानेजर राजेन्द्रजंग रायमाझीले सञ्चार माध्यममा भएका समस्याका बारेमा जानकारी गराएका थिए । 

संघले यस अगाडि नेपाल पत्रकार महासंघ रुपन्देहीलाई २५ हजार १ सय रुपैंया नगदसहित स्वास्थ्य सामाग्रि समेत प्रदान गरिसकेको छ ।