मकवानपुरमा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री वितरण

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले  नेपाल पत्रकार महासंघ मकवानपुरलाई शनिबार स्वास्थ्य सामग्री वितरण गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज नयन र पूर्व जिल्ला इन्चार्ज वाटरको नेतृत्वमा नेपाल पत्रकार महासंघ मकवानपुरलाई मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको हो । 

कार्यक्रममा जिल्ला इन्चार्ज नयनले देशको चौथो अङ्गको रुपमा स्थापित पत्रकार महासंघ अन्तर्गत रही काम गरिरहेका सम्पूर्ण पत्रकार मित्रहरु अहिलेको समयमा दलाल संसदीय व्यवस्थाको असफलता र वैज्ञानिक समाजवादी व्यवस्थाको अपरिहार्यता विषयमा स्पष्ट हुँदै दलाल  राज्यसत्ताका मालिकप्रति नभई जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । उनले अब नेपाली जनताले व्यक्ति छनोट गर्ने संसदीय व्यवस्थाको चुनावको विकल्पमा व्यवस्था चुन्ने अधिकार जनमतसंग्रहद्धारा चाहेको र यो कुरालाई स्पष्ट, निष्पक्ष ढङ्गले अगाडि सार्दै सम्बन्धित तह र तप्कासम्म पुर्याउनुपर्ने जिम्मेवारी बोध गर्न पत्रकार मित्रहरुलाई आग्रह गरे ।

नेपाल पत्रकार महसंघ मकवानपुरका अधयक्ष मणिराज गौतमले उक्त स्वास्थ्य सामग्री ग्रहण गर्दै नेपाल कम्युनिस्ट पार्टीको सहयोगी भावनाको उच्च कदर गरे । उनले दुःख र कष्टको जन्जिरले जेलिएका आम नेपाली जनताका आवश्यकताको मध्यनजर गर्दै जनपक्षीय सहयोगी हात फैलाउँदै प्रतिबन्धको बावजुत पनि आफ्नो स्पष्ट राजनीतिक भिजनसहितको कार्यदिशालाई यहाँसम्म ल्याइपुर्याएकोमा खुशी व्यक्त गरेका थिए । उनले कोरोना संक्रमणको समयमा नेपाल पत्रकार महासंघलाई आवश्यक पर्ने, नेपाल सरकारले व्यवस्था गर्न नसकेको स्वास्थ्य सामग्री उपलब्ध गरिदिएकोमा नेकपा मकवानपुरलाई धन्यवादसहित आगामी दिनहरुमा पनि यस्तै सहयोगी हात बढाउँदै जनताको मन जित्दै आफ्नो लक्षसम्म पुग्न शुभकामना समेत दिएका थिए ।

कार्यक्रमकै बिचमा अबका दिनदेखि नेपाल कम्युनिस्ट पार्टी जनताका सुख दुःखमा साथ दिँदै नयाँ ढङ्गले अगाडि बढ्ने र यस कार्यप्रति पत्रकार मित्रहरु स्पष्ट भई वैज्ञानिक समाजवाद स्थापना गर्ने कार्यमा जुट्न आह्वान समेत गरेका छन्।