श्रमिक आधारभूत विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने क्रान्तिकारीको चेतावनी 

श्रमिक आधारभूत विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने क्रान्तिकारीको चेतावनी 

नुवाकोट । नेकपा निकट अखिल (क्रान्तिकारी) नुवाकोटले श्रमिक आधारभूत विद्यालयका प्रधानाध्यापक राज लामिछानेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रअ लामिछानेले नगरबाट निकासा हुने संस्थाको रकम केही वर्षदेखि नै हिनामिना गरेको, ७ शिक्षक कर्मचारीको तलब ५ लाख ३३ हजार ३९० रुपैयाँ करिब १८ महिनादेखि नदिएको, श्रम गर्ने किसान श्रमिकको ज्याला रकम नदिएको देखिन आएकाले कारबाही गर्नुपर्ने अवस्था आएको क्रान्तिकारीले जनाएको छ ।

प्रअ लामिछानेले विद्यालयमा पोशाक, छात्रवृत्ति, खेलकुद, विज्ञान प्रयोगशाला, खाजा भत्ता, पुस्तकालयलगायत विभिन्न शिर्षकमा निकासा हुने रकम भ्रष्टाचार गरेको समेत अनुसन्धानबाट खुलेको क्रान्तिकारीले जनाएको छ ।

सङ्गठनका नुवाकोट जिल्ला संयोजक मेघेन्द्र न्यौपानेले प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेका जस्ता विविध सामाजिक अपराधिक क्रियाकलाप विरुद्ध आफ्नो सङ्गठन निरन्तर सङ्घर्ष गर्दै आएकाले त्यस्ता कार्य तत्काल बन्द गर्न र सम्पूर्ण कर्मचारीको तलब, ज्याला रकम बुझाई आर्थिक पारदर्शीता कायम गरी व्यवस्थित तरिकाले विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन् ।

संयोजक न्यौपानेले बुर्जुवा शिक्षाको विस्थापन र वैज्ञानिक समाजवादी शिक्षा स्थापनाको महान अभियानमा आफूहरू निरन्तर लागिरहेको र सबैलाई यो महान अभियानमा सामेल हुन समेत अपिल गरेका छन् ।