मुक्ति गैरे । पाल्पा । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले यही असार १ गते देखि लगातार ६ गते सम्म परेको भिषण बर्षाका कारण घर पूर्णरुपमा क्षति भई ज्यान गुमाउने पीडित परिवारलाई राहत वितरण गरेको छ ।
पाल्पाको रिब्दिकोट गाँउपालिकास्थित वडा नं.४ मन्छिपमा रहेकी आमा बिष्णु भट्टराई र बुवा महेन्द्र भट्टराईका दुई छोरा मध्ये एक छोरा १९ बर्षका मदन भट्टराईलाई घरसँगै असार १ गते साझ ६ बजे तिर आएको पहिरोले बगाएको थियो । । आमा बिष्णु भट्टराई भने छिमेकीको घरमा दुध लिन गएको कारणले बच्न सफल भएको पीडित बिष्णु भट्टराईले बताउनुभयो । साथै छिमेकी घर सुनिता भट्टराईको घरमा पनि क्षति पुर्याएको थियो ।
उक्त दुखद् घडीमा नेपाल कम्युनिस्ट पार्टीले उक्त पिडित परिवारको घरमा पुगेर चामल, नुन, तेल, दाल, मास्क र साबुन लगायतका सामाग्रीहरु वितरण गरेको छ ।
राहत वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा–गुल्मी जिल्ला इन्चार्ज अपेक्षाले दुखको बेलामा आफूहरुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यस दुखद् घडीमा शोकलाई शक्तिमा बदल्दै अगाडि बढ्नुपर्ने भन्दै पीडित आमा बिष्णु भट्टराई र सम्पूर्ण परिवारलाई सात्न्वना दिदै मृतक मदन भट्टराईप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै गहिरो समवेदना प्रकट गरिन् ।
नेपाल कम्युनिस्ट पार्टी पाल्पा जिल्ला सचिव प्रभातले राज्यको गैर जिम्मेवारीपनका कारण बाढी पहिरोको उचित व्यवस्थापन र रोकथाम नगर्दा नागरिकहरुले बर्षेनी अनाहकमा दुख पाउनुका साथै ज्यान गुमाउनु गरेको बताए ।
यस्तै रिब्दिकोट गाँउपालिका वडा नं.२ देउरालीमा ९० घरपरवारलाई मास्क र साबुन समेत वितरण गरेको छ ।
पहिरो पीडित भन्छन् ‘नौं दिन भयो बिजुली बत्ती छैन’
कार्यक्रममा दुख र शोकमा परेका पिडित परिवारहरुले मिति २०७७ असार १ गते उक्त घटना भएपछि शव उद्दारका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरी मात्रै आएर गएपछि कसैले पनि वास्ता नगरेको बताएका थिए ।
पीडित परिवारहरू स्थानीय सरकार, राजनीतिक दल, समाजसेवी, नत कोहि पनि नआएको भन्दै नेकपाप्रति धन्यवाद व्यक्र गरेका थिए । उक्त घटना घटेको दिनदेखि विद्युत सेवा समेत अवरुद्ध भएको कारणले अध्यारोमा आफूहरुले दुख बिसाउनु परेको स्थानीयहरूले बताए । बिजुली बत्तीका लागि स्थानीय सरकारदेखि जिल्लामा पहलका लागि अपिल गर्दा समेत वेवास्ता गरेको भन्दै पिडीत परिवारले दुखेसो व्यक्त गरे ।
उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य नारायण केसी, अखिल(क्रान्तिकारी)का जिल्ला उपाध्यक्ष सुदिप विश्वकर्मा, नेपाल पत्रकार महासंघ मिर्मिरे प्रतिष्ठान शाखा अनामनगर काठमाडौंका सहसचिव मुक्ति गैरे लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्