सल्यानमा नेकपा निकट युवा–विद्यार्थीहरूले गरे वृक्षारोपण

हेमन्त वली । दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) र युवा सङ्गठन नेपाल सल्यानले सोमबार संयुक्त रुपमा वृक्षारोपण गरेका छन् । जिल्लामा अवस्थित शिवजन माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । 

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पोख्रेलले पर्यावरणीय क्षेत्रमा रहेको संकटलाई  वैज्ञानिक समाजवादले मात्र हल गर्न सक्ने भएकोले जनमत सग्रह मार्फत वैज्ञानिक समाजवादी राजनैतिक प्रणाली स्थापना गर्न विलम्ब  गर्न नहुने धारणा राखे । उनले दलाल पुँजीवादी संसदीय व्यवस्थाले निम्त्याएको राजनैतिक सङ्कटको हल प्रगतिशील संयुक्त सरकार, जनमत सग्रह र वैज्ञानिक समाजवाद  मात्र  निर्विकल्प  विकल्प भएकाले अब समाजको ध्यानाकर्षण हुनैपर्ने समय आइपुगेको बताए ।

प्राकृतिक सौन्दर्यको लागि वृक्षारोपण अनिवार्य भएकाले  वृक्षारोपण गर्न जरुरी रहेको उनको धारणा थियो । संसदीय  व्यवस्थाले फालिरहेको विकार कार्बनडाअक्साइडले जनजीवनलाई  आजित बनाइरहेको बेला युवा विद्यार्थीहरुले आयोजना गरेको वृक्षारोपणको बहुआयामिक महत्व रहेको भन्दै वृक्षारोपणमा सहभागी सबैलाई नेता पोखरेलले धन्यवाद दिए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) सल्यानका नेता–कार्यकर्ता, युवा सङ्गठन नेपाल सल्यानका नेता–कार्यकर्ता, विद्यालयका प्रधानाध्यापक हिरालाल नेपाली, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेश विकको  सहभाहिता रहेको थियो ।

वृक्षारोपण कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) सल्यान जिल्ला इन्चार्ज टंक प्रकाश केसिले गरेका थिए ।