युवा सङ्गठन थबाङद्वारा कोरोना बिरामीहरूलाई खाना, नास्ता र व्यवस्थापन

 युवा सङ्गठन थबाङद्वारा कोरोना बिरामीहरूलाई खाना, नास्ता र व्यवस्थापन

थबाङ । नेकपाको अग्रभागीय सङ्गठन युवा सङ्गठन नेपाल थबाङले कोरोना संक्रमितहरुको लागि निःशुल्क खाना, नास्ता तथा व्यवस्थापन गर्दै आएको छ । सङ्गठनले रोल्पाको थबाङस्थित शहिद स्मृति सभा भवनलाई आइसोलेसन सेन्टरमा परिणत गरी विगत एक महिनादेखि निःशुल्क खाना, नास्ता तथा व्यवस्थापन गर्दै आएको छ । 

थबाङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि २० बेडको आइसोलेसन निर्माण गरी कोरोना संक्रमितहरुको लागि नियमित खाना, नास्ता र व्यवस्थापन गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका थबाङका नेता अमित घर्ती मगरले बताए । घर्तीले महामारी तथा आपतकालिन अवस्थामा पनि नेपाल सरकार तथा स्थानीय सरकारले बिरामीहरुको लाग खाना नास्ताको कुनै व्यवस्थापन नगरेको बताए । उनले भने– ‘वर्षातको समयमा बिरामीहरुको लागि आइसोलेसन सेन्टरमा खाना नास्तामा निकै समस्या रहेको थियो ।’ बिरामीलाई घरबाट समयमा खाना पुर्याउने समस्या, बिरामीको परिवारले घरबाट खाना नास्ता पुर्याउदा संक्रमित बिरामीबाट रोग सर्न सक्ने खतरा, कतिपय परिवारमा बिरामीलाई खाना नास्ता पुर्याउन परिवारको सदस्य नहुनु, बिरामीलाई घरबाट लग्दालग्दा खाना चिसो हुने र खानामा एकरूपता नहुने जस्ता समस्याले बिरामीहरुको लागि आइसोलेसन नजिकै भान्सा घर सुरु गर्नुपर्छ भन्दै निशुल्क खाना नास्ता व्यवस्थापन कार्यमा लागिरहेको उनले बताए । जेठ २३ देखि सुरु गरिएको उक्त कार्यको एक महिनाको अवधिभर बिरामीहरुको लागि निःशुल्क खाना नास्ता व्यवस्थापन गर्ने क्रममा पछिल्लो समयमा कतिपयको ज्यान समेत गएको छ । उनले भने, –‘हामी खानानास्ता व्यवस्थापन कार्यमा मात्र थिएनौं, बिरामीहरुको हेरचाह, उद्धार आपतकालिन अवस्थामा बिरामीहरुलाई नजिकैबाट सहयोग पनि गर्दै आएका छौँ ।’

अमित घर्ती मगर अगाडि भन्छन्,–‘विश्व महामारीको रूपमा फैलिएको कोभिड –१९ को दोस्रो लहरले गर्दा रोल्पाको विकट गाउँ थबाङ पनि अछुतो हुन सकेन, पछिल्लो समयमा कोभिड –१९ कोरोना भाइरसकै कारण नेपाल कम्युनिस्ट पार्टीका पूर्व केन्द्रिय सल्लाहाकार तथा अभिभावक पूर्णबहादुर रोका ‘गोरे दाई’, त्यसैगरी कम्युनिस्ट आन्दोलनका जिल्ला सल्लाहाकार सदस्य हितजी झाँक्री ‘झङ’ र एक मुलबिर विकको समेत दुस्खद निधन भईसकेको छ, सयौंको सङ्ख्यामा कोरोना संक्रमण पुष्टि भैसकेको छ, थबाङ गाउँपालिका अस्पताल तथा अनुसन्धान केन्द्रको चेकजाँचपछि संक्रमित बिरामीहरुलाई अवस्था अनुसार कतिपय सामान्य अवस्थामा रहेका संक्रमित बिरामीलाई होम क्वारेन्टाइनमा बस्ने सल्लाह र संक्रमित भइ स्वास्थ्यमा जटिल समस्या देखिएका बिरामीलाई थबाङ आइसोलेसन सेन्टरमा राखी उपचार गर्दै आइरहेको छौँ ।’

उक्त खाना नास्ता व्यवस्थापन कार्यमा स्वदेश तथा विदेशका शुभचिन्तक, विभिन्न समूह, संस्था, विभिन्न सरकारी तथा गैरसरकारी कार्यलयमा कार्यरत कर्मचारीहरुको व्यक्तिगत सहयोग, मजदुर, व्यापारीले पनि केही दैनिक उपभोग्य चामल, तरकारी, नगद र जिन्सी सहयोग रहेको बताइएको छ ।

यसै बीच नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज केश बहादुर बाँठा मगर ‘सुवास’ले थबाङ आइसोलेसन सेन्टरमा पुगी बिरामीहरुसँग भेटघाट गरी उनीहरूको अवस्थाबारे जानकारी लिएका छन् । बिरामीहरुसँगको भेटघाटमा उनले आफै बिरामीहरुलाई खाना खुवाउँदै यो महाविपत्तिको समयमा पार्टी निकट युवा संगठन नेपाल थबाङले आयोजना गरेको उक्त कार्यको प्रशंसा गर्दै सम्पूर्ण युवाहरुलाई पार्टी जिल्ला कमिटी रोल्पा र पार्टी केन्द्रीय समितिको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।