कपिलवस्तु । नेकपा निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाको विभिन्न स्थानमा शैक्षिक विकृतिका विरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रबार केन्द्रीय कार्यक्रम अन्तर्गत शिक्षाको निजीकरण र चरम व्यापारीकरण, त्रिविले बढाएको शुल्क, अनलाइन शिक्षामा व्यापार लगायत सबै शैक्षिक विकृतिका विरुद्ध क्रान्तिकारीले उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले शिक्षा जस्तो संवेदनशिल विषयमा राज्य जिम्मेवार बन्नुको सट्टा निजी स्वार्थमा व्यस्त रहेको र आम विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाए । उनले अब यो विदेशको चाकडी गर्ने, दास उत्पादन गर्ने शिक्षा नीति अन्त्य गरी वैज्ञानिक समाजवादी शिक्षा स्थापना गर्नु पर्ने बताए । उनले सबै शैक्षिक विकृतिका विरुद्ध कडा सङ्घर्षमा उत्रनु पर्ने बताए ।
क्षेत्रीले शिक्षालाई निःशुल्क र अनिवार्य बनाउनुको सट्टा नाफामुखी बनाउनमा राजयले आफै प्रोत्साहन गरेको समेत आरोप लगाए । यो संसदीय व्यवस्थाबाट निःशुल्क शिक्षा सम्भव नभएकाले वैज्ञानिक समाजवादी राज्य सत्ता स्थापना गर्नु पर्ने क्षेत्रीले बताए ।
कार्यक्रममा पार्टी तथा सङ्गठनका नेता–कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सङ्गठनका जिल्ला उपाध्यक्ष संगीता विकले सन्चालन गरेकी थिइन् ।
प्रतिक्रिया राख्नुहोस्