सरकारले सहमति कार्यान्वयन नगरे प्रतिरोध गछौँ : जुझारु

अनिल नेपाली । अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अर्घाखाँची–कपिलवस्तु जिल्ला इन्चार्ज पदम केसी ‘जुझारु’ले वर्तमान सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको बताउनुभएको छ । उनले वार्ता भएको लामो समय बितिसक्दा पनि आफ्ना नेता–कार्यकर्तालाई रिहाई नगर्नु दुखद भएको बताउँदै सहमति कार्यान्वय नगरे आफूहरुले त्यसको प्रतिरोध गर्ने बताउनुभएको छ । जनपत्रकार सङ्गठन नेपाल अर्घाखाँचीको दोस्रो बैठकलाई आइतबार सन्धिखर्कमा सम्बोधन गदै नेता केसीले यस्तो बताउनुभएको हो । 

नेता जुझारुले वर्तमान सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरी आफ्नो पार्टीका नेता–कार्यकर्तालाई हिरासतमा अमानविय ढङ्गले यातना दिएको बताउँदै इमान्दारीतापूर्वक आफूहरूले सरकारसँग गरेको ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन् । कार्यान्वयन नगरे त्यसको पूर्णजवाफदेही स्वयम् सरकार हुनुपर्ने जुझारुले बताउनुभएको छ । 

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्तीले सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको पूर्ण जवाफदेही सरकार स्वयम् हुनुपर्ने बताउनुभएको छ । 

कार्यक्रममा जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य अनिल नेपालीले वर्तमान लुम्बिनी प्रदेश सरकारले पत्रकारको वाक स्वतन्त्रता, नागरिक स्वतन्त्रतालाई कुन्ठित गर्ने गरी सदनमा पेश गरेको सञ्चार विधेयक सञ्चारमैत्री नभएकाले यसलाई  पूर्ण रुपमा सच्चाउनुपर्ने बताउँदै पत्रकारले खोज पत्रकारिता र मिसन पत्रकारितालाई विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो । 

कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य लक्ष्मण ओली, अखिल (क्रान्तिकारी)का जिल्ला इन्चार्ज नविन खड्का, जिल्ला अध्यक्ष बाबुराम एसके लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

बैठक सङ्गठनका जिल्ला अध्यक्ष अयान विकको अध्यक्षतामा सम्पन्न भएको थियो ।