राष्ट्रघाती ‘इम्बोस्ड नम्बर प्लेट’ खारेज गर : महासङ्घ

बुटवल । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले नेपालको सार्वभौमिकतामाथि गम्भीर आँच पुर्याउने राष्ट्रघाती ‘इम्बोस्ड नम्बर प्लेट’ खारेज गर्न माग गरेको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाले बिहिबार एक प्रेस विज्ञप्ति जारी गरी नेपाली भाषा–लिपि, वर्णाक्षर र अङ्कसमेत समाप्त पार्ने आत्मघाती र राष्ट्रघाती दुराशयुक्त भएको बताएका छन् ।

प्रेस विज्ञप्तिको पूर्ण पाठ :

नेपालमा ‘इम्बोस्ड नम्बर प्लेट’ कार्यान्वयनमा लैजान प्रक्रिया अघि बढाइएको सम्बन्धमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । यो नेपाली भाषा–लिपि, वर्णाक्षर र अङ्कसमेत समाप्त पार्ने आत्मघाती र राष्ट्रघाती दुराशयुक्त छ । हाम्रो सङ्गठन नेपालको सार्वभौमिकतामाथि गम्भीर आँच पु¥याउँदै सिङ्गो राष्ट्र र नागरिकको गोपनीयताको हकसमेत समाप्त पार्ने विषाक्त उद्देश्य र साम्राज्यवादी योजनामा ल्याइएको ‘इम्बोस्ड नम्बर’ तत्काल खारेज गर्न माग गर्दछ । नेपालमा सञ्चालन हुने कुनै पनि सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ को प्रयोग हामीलाई सर्वथा अमान्य छ । साम्राज्यवादी योजनामा नेपाललाई उसकै सुरक्षा छाताभित्र राख्ने उद्देश्यका साथ ल्याइएको यसप्रकारको राष्ट्रविरोधी कार्यको जति भत्र्सना र निन्दा गरे पनि कम हुन्छ । 

ट्राफिक र यात्रुहरूको हितरक्षासँग सरोकार राख्ने नम्बर प्लेटमा नेपाली भाषाको वर्णाक्षर र अङ्क पर्याप्त हुँदाहुँदै पनि आत्मघाती ‘इम्बोस्ड नम्बर प्लेट’ प्रयोग गरिनु नेपाली जनताको नैसर्गिक भाषिक र गोपनीयताको हकको गम्भीर हनन् हुनु हो । तथाकथित सरल र प्रविधिमैत्रीको आबरणमा नेपाल र नेपाली जनताको अस्तित्व समाप्त पार्ने यसप्रकारको साम्राज्यवादी नीति कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । आधुनिक प्रविधिबाट विश्वका अन्य देशले चौतर्फी प्रभाव विस्तार गर्ने तर त्यही प्रविधिको आवरणमा हामी नेपालीहरूलाई खुम्च्याउने यो भयानक षड्यन्त्र हो । नेपालको दलाल संसदीय सत्ताले नेपाल र नेपाली जनताको सार्वभौम अस्तित्वमाथि दिनदहाडै धावा बोल्दै अघि सारेको आत्मघाती, जनघाती तथा राष्ट्रघाती ‘इम्बोस्ड नम्बर प्लेट’ को विरुद्ध हाम्रो सङ्गठन सबै प्रकारको सङ्घर्षको विधि अपनाउन तयार छ । 

‘इम्बोस्ड नम्बर प्लेट’ को प्रतिलिपि अधिकार नेपाल सरकार, यातायात मन्त्रालय र यातायात विभागलाई समेत हुँदैन । यसबाट नेपालको सार्वभौमिकतामाथि दीर्घकालीन गम्भीर असर मात्र पुग्दैन कि यो हजारौँ आर्टिस्ट मजदुरहरूको रोजीरोटी खोस्दै साम्राज्यवादी स्वार्थ पूरा गर्ने गैरन्यायिक, बेइमानीपूर्ण, जनतामारा तथा राष्ट्रमारा छ । यसले जनताको भाषिक अधिकार र गोपनीयताको हकको खिल्ली उडाउँदै देशको राजस्वसमेत विदेशी कम्पनीलाई बुझाउन बाध्य पार्दैछ । आत्मघाती ‘इम्बोस्ड नम्बर प्लेट’ नेपालको संविधान २०७२ को धारा १(१), धारा ७(१), धारा २८ र धारा ३२(३) समेतको  प्रतिकूल हुँदा नेपाली धर्तीमा यो कुनै पनि हालतमा मान्य हुन सक्तैन । हामी कुनै पनि हालतमा नेपालमा ‘इम्बोस्ड नम्बर प्लेट’ लाई लागू हुन दिँदैनौँ । ‘इम्बोस्ड नम्बर प्लेट’ को प्रयोग गर्न थालेकाहरूलाई तत्काल हटाउन चेतावनी दिन चाहन्छौँ । 

‘नेपाली नम्बर प्लेट’ हटाउँदै र ‘इम्बोस्ड नम्बर प्लेट’ ‘ग्लोबल भिलेजको अवधारणा आत्मसात गर्न अंग्रेजी अल्फावेट प्रयोग गर्ने निर्णय गरेको’ भनिए पनि यो सरासर राष्ट्रघाती छ । भनिँदैछ, नेपाल सार्क र बीबीआईएन (भुटान, बंगलादेश, इन्डिया र नेपाल) को सदस्यसमेत भएकोले नेपालमा दर्ता भएका सवारी साधन भारत, बंगलादेश, भुटान, चीन मात्रै नभई युरोपसम्म जान सक्नेछन् । इम्बोस्ड नम्बर प्लेटमा जडित हुने अत्याधुनिक प्रविधि आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिटेल) प्रविधिले गाडी रहेको स्थान गाडीको अवस्थालगायतको जानकारी दिने भएकाले यसले गोपनीयताको अधिकारमाथि गम्भीर प्रश्न खडा गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ ९९ प्रतिशत आल्मोनियमबाट रेट्रो रिफ्लेक्टिभ सिट लेमिनेट गरी बनाइएको हुन्छ । नेपालको राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले प्रयोग गर्ने नम्बर प्लेटमा ‘इम्बोस्ड नम्बर प्लेट’ प्रयोग हुनाले राष्ट्रिय सुरक्षाको हिसाबले पनि संवेदनशील र गम्भीर छ । अमेरिकाले बिन लादेनदेखि इरानी विशेष सेनाका प्रमुख जनरल कासिम सुलेमानीको हत्यासम्म ट्राफिक चेकिङको यही विधि प्रयोग गरेको थियो । ‘इम्बोस्ड नम्बर प्लेट’ मार्फत भेइकल क्राइम घटाउने बताइए पनि यसले अझै झन् तीव्रगतिमा भेइकल क्राइम बढाउने निश्चित छ ।

हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घ राष्ट्रियता र जनपक्षीय कला–साहित्यको पक्षमा लामो समयदेखि कठोर सङ्घर्ष गर्दै आएको छ । नेपालको राष्ट्रियता, कला, भाषा, साहित्यको रक्षा, विकास र विस्तारमा हाम्रो सङ्गठन निरन्तर क्रियाशील छ । यसर्थ, ‘इम्बोस्ड नम्बर प्लेट’ जस्तो भाषाघाती तथा राष्ट्रघाती निर्णयका विरुद्ध सशक्त आन्दोलनमा उत्रिन देशभक्त, प्रगतिशील, क्रान्तिकारी, कलाकार, वकिल, बुद्धिजीवी, लेखक–साहित्यकार एवम् सम्पूर्ण जनसमुदायमा हाम्रो सङ्गठन हार्दिक अपिल गर्दछ । 

खेम थपलिया
महासचिव
३१ असार, २०७८