अन्य पार्टीका नेता–कार्यकर्ताहरू पार्टी परित्याग गरी नेकपामा प्रवेश गरे

अन्य पार्टीका नेता–कार्यकर्ताहरू पार्टी परित्याग गरी नेकपामा प्रवेश गरे

गणेश एसके । कञ्चनपुर । कञ्चनपुरमा अन्य पार्टी परित्याग गरी विप्लव नेतृत्वको नेकपामा दर्जनौं नेताहरु ध्रुवीकृत भएका छन् । राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी दर्जन भन्दा बढी नेताहरु नेकपामा प्रवेश गरेका हुन् । 

उक्त ध्रुविकरण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज ओम प्रकाश पुन ‘निर्माण’ ले अहिलेको परिस्थितिमा आफूहरू सुदृढ र जनतामुखी पार्टी बनाउँदै जनतासँगै सहकार्य गरेर जनतको प्रतिनिधित्व गर्ने व्यवस्थाको निर्माण गर्ने बाटोमा अघि बढिरहेको बताए । उनले वर्तमान पुँजीवादी व्यवस्थाले देशमा कसैको पनि न्यूनतम समस्यालाई हल नगरेको झन् उल्टो जातीय भेदभाव, वर्गीय असमानता, सामाजिक असुरक्षा, महँगी, घुसखोरी, भ्रष्टाचार चरम रूपमा मौलाएको बताए । उनले यी सबै समस्याको जड वर्तमान असफल संसदीय व्यवस्था भएको ठहर गरे । सम्पूर्ण समस्याको हल निर्विकल्प वैज्ञानिक समाजवाद भएको उनले ठोकुवा गरे । उनले एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध भई एउटा सच्चा नागरिकको भूमिका निर्वाह गर्दै वर्ग विहिन, जाती विहिन, धर्म विहिन, शोषण विहिन आम जनताको नेतृत्व गर्ने सुन्दर व्यवस्था वैज्ञानिक समाजवादको यात्रामा सहकार्य गर्नु अहिलेको आवश्यकता रहेको बताए । साथै उनले तीन बुँदे सहमति कार्यान्वयन गर्दै जनमत संग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न र जनतालाई व्यवस्था चुन्ने अधिकार दिने माहोल बनाउन सबैलाई आग्रह समेत गरे । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सुडा, दैजी इन्चार्ज मानबहादुर टेर, राष्ट्रिय जनमोर्चाका निकट राष्ट्रिय युवक संघका सुदुरपश्चिम प्रदेश सहसंयोजक अमिर कुँवर, युवा संघका गोकर्ण जोशी, राष्ट्रिय जनमोर्चाका वडा संयोजक मनिराम लुहार, सदस्य गणेश नाथ, माओवादी केन्द्रका एरिया सदस्य शेरबहादुर बम, नेपाली काँग्रेसका क्रियाशील सदस्य जीवन कार्की, पूर्व जनमुक्ति सेना कमल एसके, जनमोर्चा निकट नेपाल युवक संघ जिल्ला सचिव भूपेन्द्र भण्डारी, स्वतन्त्र बुद्धिजिवी अजय सिंह लगायतका दर्जनौ नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा ध्रुविकरण भएका छन् । 

पछिल्लो पार्टी बैठकको नारा ‘क्रान्तिकारी एकता र ध्रुविकरण मा जोड दिऔँ । समुधुर जनसम्बन्ध सहित सुदृढ पार्टी निर्माण गरौँ’  भन्ने निर्णय अनुसार नेकपा कञ्चनपुर सुदृढ पार्टी निर्माणमा तिब्र रुपमा खटिएको छ ।

नेकपा कञ्चनपुर सेक्रेटरी जीवनको अध्यक्षतामा सम्पन्न ध्रुविकरण कार्यक्रम भुवन कुँवरले सञ्चालन गरेका थिए भने विवशले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।