बुटवल । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देहीद्वारा बुटवलमा सञ्चालित जिल्ला स्तरीय स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । शनिबारदेखि सञ्चालन भएको कार्यक्रम बिहिबार सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज कृतिले कम्युनिस्ट स्कुलिङ पार्टीको नियमित कार्यक्रम भएको भन्दै पार्टीको विचारधारात्मक तथा वैचारिक विकास र क्षमता वृद्धिका लागि महत्वपूर्ण रहेको बताए । उनले स्कुलमा अध्ययन गरेको विषयलाई सबै नेता–कार्यकर्ताले व्यवहारिक रुपमा कार्यान्वयन गर्न निर्देश गरे ।
नेता कृतिले द्धन्द्धात्मक भौतिकवाद पार्टीको जीवन दर्शन भएको भन्दै यसका लागि विश्वदृष्टिकोणको अध्ययन जरुरी रहेको बताए । उनले कम्युनिस्ट पार्टीका सदस्यले कम्युनिस्ट दर्शन, नीति, संस्कार र संस्कृतिलाई अबलम्बन गर्नुपर्ने भन्दै त्यसले मात्र समाज रुपान्तरण गर्न सकिने बताए । उनले समाज रुपान्तरण विश्व दृष्टिकोणसित अभिन्न रुपमा जोडिएको भन्दै यसका लागि कम्युनिस्ट स्कुल सञ्चालन गरिएको बताए । उनले आजको साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध लड्ने वैचारिक हतियार मालेमावाद भएको भन्दै वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि यसका पक्षधरहरु एक हुनुपर्ने बताए । उनले पार्टीको पछिल्लो कार्यनीति प्रगतिशील संयुक्त सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवादको बारेमा स्पष्ट पारे ।
कार्यक्रममा केन्द्रीय स्कुलिङ विभागका प्रमुख भेसराज भुसालले असल कम्युनिस्ट कार्यकर्ता र बलियो कम्युनिस्ट पार्टी निर्माणका लागि कम्युनिस्ट स्कुलिङ जरुरी रहेको बताए । भुसालले अहिलेको विकसित परिस्थितिमा नेता, कार्यकर्ता र जनताबीच एकीकृत बुझाई, एकीकृत योजना, एकीकृत कमाण्ड र एकीकृत संघर्षले मात्र पार्टी लक्ष्यमा पुग्न सकिने बताए । उनले उक्त स्कुलिङले नेता–कार्यकर्ताको राजनीतिक तथा वैचारिक स्तरमा थप वृद्धि भएको र वैज्ञानिक तरिकाले तर्क गर्ने क्षमताको विकास भएको बताए ।
नेकपाका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्दले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत रुपमा अघि बढाउनुपर्ने स्पष्ट पारिन् । उनले वर्तमान दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अपरिहार्य भएको बताइन् । चन्दले वर्तमान नेपाली राजनीतिक सङ्कटको निकास निर्विकल्प वैज्ञानिक समाजवाद भएको भन्दै एकिकृत जनक्रान्तिको कार्यदिशामा सबै जनतालाई समाहित बनाउनुपर्ने र स्पष्ट पार्नुपर्ने आजको पहिलो आवश्यकता भएको बताइन् ।
रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले आफूलाई बदल्ने र दुनियाँ बदल्ने उद्देश्यका लागि पार्टीले नियमित स्कुलिङ कार्यक्रम गरिरहेको भन्दै यसले नयाँ परिस्थितिमा पार्टीको जिम्मेवारी पुरा गर्ने विश्वास गरे । उनले स्कुलमा अध्ययन गरेको विषयलाई सबै नेता–कार्यकर्ताले व्यवहारिक रुपमा कार्यान्वयन गरिने र जनतालाई स्पष्ट पार्ने विश्वास व्यक्त गरे ।
स्कूलिङका प्रशिक्षक गणेश थापा र खोमा तरामु मगरले सबै नेता–कार्यकर्तालाई आफूले प्राप्त गरेका मालेमावादी सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा लागु गर्न र आम जनतालाई स्पष्ट पार्न निर्देश गरे । साथै स्कूलिङ पश्चात् सम्पूर्ण प्रशिक्षार्थीहरू राजनीतिक तथा वैचारिक रुपमा दृढतापूर्वक वैज्ञानिक ढङ्गले तर्क गर्न र जनतालाई प्रशिक्षित गर्न तयार भएको बताए ।
कार्यक्रममा प्रशिक्षार्थी प्रकाश, शिशिर, श्याम, विश्लेषण, विरेन्द्र, रुपा, पारस लगायत नेता–कार्यकर्ताले आ–आफ्ना अनुभूति राखेका थिए ।
पाँच दिनसम्म सञ्चालित स्कुलिङ कार्यक्रममा जिल्ला सदस्य, सल्लाहकार, जनवर्गीय संगठन र मोर्चाका प्रमुखहरु, सहिद तथा बेपत्ता परिवारलगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको बताइएको छ । नेकपाले देशैभर पार्टी पुनर्गठनपछि कम्युनिस्ट स्कुल सञ्चालन गर्दै आइरहेको छ ।
स्कुलिङ कार्यक्रममा दर्शन, वैज्ञानिक समाजवादी अर्थशास्त्र, वैज्ञानिक समाजवाद, सौन्दर्यशास्त्र, विज्ञान र प्रविधि, इतिहास, एकीकृत जनक्रान्तिको कार्यदिशा र नयाँ कार्यनीति लगायतका विषयमा प्रशिक्षण गराइएको केन्द्रीय स्कुल विभागका प्रमुख भेसराज भुसालले बताए ।
प्रतिक्रिया राख्नुहोस्