जनकपुरमा युवाहरूले गरे सार्वजनिक यातायातमा अनुगमन

बुटवल । युवा सङ्गठन नेपालले जनता कोरोना महामारी र विभिन्न प्राकृतिक विपत्तिको मारमा परिरहेको बेला लुट मच्चाउने किसिमले यातायात व्यवसायीले चर्को भाडा असुलेको जन गुनासो आएपछि जनकपुर ब्युरो अन्तर्गतका जिल्लाहरु महोत्तरी, सर्लाही, सिन्धुली लगायतका जिल्लामा विरोध कार्यक्रम तथा सार्वजनिक यातायातमा अनुगमन गरेको छ । 

युवा संगठन नेपाल जनकपुर ब्युरो इन्चार्ज बिचारमान थिङले जनबाटोलाई दिएको जानकारी अनुसार महोत्तरीमा युवा संगठन नेपालका जिल्ला अध्यक्ष कमरेड प्राणकुमारको नेतृत्वमा मूल्यवृद्धि विरुद्ध विरोध तथा अनुगमन गर्दा चर्को भाडा असुलेको पाइएको बताइएको छ । मूल्यवृद्धि विरुद्ध विरोध तथा अनुगमन गर्दा यात्रुहरु खुशी हुँदै सङ्गठनलाई धन्यवाद दिएका थिए । 

नेकपा निकट युवा संगठन नेपालले निरन्तर  कालोबजारी, भ्रष्टाचारी, महँगी र सामाजिक विकृतीका विरुद्ध सङघर्ष गर्दै आइरहेको छ । मूल्यवृद्धि नरोके थप कडा संघर्ष र आन्दोलन गर्ने  सङ्गठनले चेतावनी दिदै आइरहेको छ ।