संसदीय व्यवस्था अन्त्य गर्न समाजवादीको जनमत बढ्दो 

कञ्चनपुरमा जनता नेकपामा ध्रुवीकृत

संसदीय व्यवस्था अन्त्य गर्न समाजवादीको जनमत बढ्दो 

गणेश एसके । कञ्चनपुर । कञ्चनपुरमा विभिन्न राजनीतिक दल परित्याग गरि विप्लव नेतृत्वको नेकपामा दर्जनौं नेताहरु ध्रुवीकृत भएका छन् ।  बुधबार राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस र माओवादी केन्द्र त्यागेर दर्जन भन्दा बढी नेताहरु नेकपामा प्रवेश गरेका हुन् ।  

ध्रुवीकरण अभियान कृष्णपुर नगर कमिटीको आयोजनामा कञ्चनपुरको गुलरियामा सम्पन्न भएको हो । पछिल्लो पार्टी बैठकको नारा ‘क्रान्तिकारी एकता र ध्रुवीकरणमा जोड दिऔँ । समुधुर जनसम्बन्धसहित सुदृढ पार्टी निर्माण गरौं’ भन्ने निर्णय अनुसार नेकपा कञ्चनपुर सुदृढ पार्टी निर्माणमा तिब्र रुपमा खटिएको देखिन्छ ।

उक्त ध्रुवीकरण कार्यक्रमका प्रमुख अतिथि तथा  कञ्चनपुर पार्टी जिल्ला सचिव रमेश नेपाली ‘जीवन’ ले अहिलेको परिस्थितिमा आफूहरू सुदृढ र जनतामुखी पार्टी बनाउँदै जनतासँगै सहकार्य गरेर जनतको प्रतिनिधित्व गर्ने व्यवस्थाको निर्माण गर्ने बाटोमा भएको बताए । उनले यो पुँजीवादी व्यवस्थाले देशमा कसैका पनि न्यूनतम समस्यालाई हल नगरेको बताए । उनले उल्टो झन् जातीय भेदभाव, वर्गीय असमानता, सामाजिक असुरक्षा, महँगी, घुसखोरी, भ्रष्टाचार चरम रूपमा मौलाएको बताए । यी सबै पराजयको पराकाष्ट भनेको यो असफल संसदीय व्यवस्था भएको उनले जिकिर गरे । उनले एकीकृत जनक्रान्तिको कार्यदिशा लामबद्ध भई एउटा सच्चा नागरिकको भूमिका निर्वाह गर्दै वर्गविहिन, जातीविहिन, धर्मविहिन, शोषणविहिन र आम जनताको नेतृत्व गर्ने सुन्दर व्यवस्था वैज्ञानिक समाजवादको यात्रामा सहकार्य गर्नु अहिलेको आवश्यकता रहेको बताए । उनले आफ्नो पार्टीले तीन बुँदे सहमति कार्यान्वयन गर्दै जनमत संग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न र जनतालाई व्यवस्था चुन्ने अधिकार दिने माहोल बनाउन सबैलाई आग्रह समेत गरे ।

कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस लगायत अन्य पार्टीबाट एक दर्जन भन्दा बढी नेताहरुले पार्टी प्रवेश गरेका छन् । प्रवेश हुनेमा राम सिंह बिष्ट, देबकी ऐर, घुम्मन् डगौरा, दीर्घराज उपाध्याय, नवराज भट्ट, बानुराम चौधरी, प्रकाश विक ,चन्द्र ताम्राकार, हिक्मत चौधरी,खडक बोहोरा,गुणराज भट्ट, टेकराज भट्ट, राजकुमारी चौधरी, हरिना रावल, लगायतका नेताकार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकरण भएका छन् । नगर इन्चार्ज इन्द्र मडैंको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वस्थ्य विभाग प्रमुख राम भट्टले स्वागत मनव्य राखेका थिए ।