पुष १, बुटवल । बुटवलको पर्यकीय स्थल हिलपार्कमा जिपलाइन सञ्चालनमा ल्याइएको छ । जिपलाइनमार्फत् बुटवलको अवलोकन गर्न पाइने भएको छ । जिपलाइनमार्फत् एक डाँडाबाट अर्को डाँडासम्म करिब डेढ किलोमिटर लामो यात्रा एक मिनेट ५ सेकेण्डमा पार गर्न सकिने छ । बुटवल उपमहानगरमा अवस्थित लक्ष्मी आदर्श सामुदायिक वनको हिलपार्क डाँडा र उत्तरतर्फ रहेको अर्को डाँडालाई जिपलाइनले जोडेको छ ।
वाइल्ड वल्डर्स प्रा.लिले सञ्चालनमा ल्याएको जिपलाइन अन्तरगत बालबालिकाहरुका लागि छुट्टै ९० मिटरको लाइन सञ्चालनमा आएको छ । हिलपार्टकदेखि ६५० किलोमिटरको दुरी पार गर्दै ४३ सेकेन्डमा उत्तरतर्फ रहेको पहाडमा पुगेर पुनः ७५० मिटरको दुरी २२ सेकेन्डमा पार गरी सोही ठाउँमा आउन मिल्ने दोहोरो जिप लाइन सम्भवत नेपालमै पहिलो भएको कम्पनीले बताएको छ ।
जिपलाइनका लागी लक्ष्मी आदर्श सामुदायिक वनसँग कम्पनीले सम्झौता गरेको छ । जिपलाइनमा एकोहोरो सवार गर्नेहरुले हजार रुपैयाँ तथा दोहोरो सवार गर्नका लागि १५०० शुल्क लाग्ने प्रा.लि.ले जनाएको छ । यो खेलमा सहभागी पर्यटकहरुका लागि ७ लाख रुपैयाँ बराबरको दुर्घटना विमा गरिने प्रा.लिले जनाएको छ । सर्वसाधारणका लागी भने यो मूल्य महंगो छ ।
वाईल्ड बल्डर्सले चितवन, गोदावरीमा यस अघि नै जिपलाइन संचालन गरिरहेको बताइएको छ । जिप लाइनको औपचारिक शुभारम्भ लुम्बिनी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले गरेका हुन् ।
प्रतिक्रिया राख्नुहोस्