Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
उखु किसानहरुले पाएनन् भुक्तानी, पुनः आन्दोलनको घोषणा - Janabato

उखु किसानहरुले पाएनन् भुक्तानी, पुनः आन्दोलनको घोषणा

माघ १० देखि २१ सम्म चरणबद्ध संघर्ष

उखु किसानहरुले पाएनन् भुक्तानी, पुनः आन्दोलनको घोषणा


माघ ९, बुटवल । उखु किसानले फेरि आन्दोलन गर्ने भएका छन्। उखुको सम्पूर्ण भुक्तानी नपाइसकेकाले उनीहरूले पुन: आन्दोलन गर्ने भएका हुन्।  ‘हामीले कति रकम पाउनु पर्ने, कति रकम पायौं? भनेर उद्योगीबाट मागिरहेका छौं। तर उद्योगीले हामीलाई त्यसको विवरण दिएका छैनन्,’उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले भने, ‘हामीलाई त्यसको यथार्थ विवरण नदिएसम्म हामी आन्दोलन गर्छौं।’

‘उद्योग मन्त्रालयको सम्झौतामा उल्लेख भएको समय सीमा समाप्त भैसकेको तर हालसम्म पनि उखु किसानको सम्पूर्ण रकम भुक्तानी गराउन सकेको छैन,’ समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

हालसम्म मन्त्रालयले कुन किसानहरूले कति रकम उद्योगीबाट पाउनु पर्ने र भुक्तानी पाइसकेको किसानहरूको विवरण चिनी उद्योगीबाट सार्वजनिक गराउन नसकेको उनीहरूको भनाइ छ। ‘सोको विवरण सार्वजनिक नगराई दिँदा मन्त्रालयले दिएको मौखिक सूचनाबाट शंका उब्जिएको छ’, विज्ञप्तिमा भनिएको छ। 

तोकिएको मितिमा सबै भुक्तानी नदिएको भन्दै किसानहरूले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्।

पहिलो चरणमा माघ १० देखि फागुन ७ गतेसम्म किसान जागरण अभियान गरिनेछ। फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एकछाक भोकै बसी खेतमा काम गरिने छ। 

त्यसपछि तेस्रो चरणको आन्दोलन घोषणा गर्ने रहेको विज्ञप्तिमा उल्लेख छ।  

उखु किसान संघर्ष समिति र नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र उखु किसानहरूको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गर्ने गरी सम्झौता भएको थियो।